काठमाडौँ, ५ भदौः राष्ट्रियसभा सदस्यहरूले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बालबालिका तथा महिलामाथि हुने हिंसा नियन्त्रण, बालबालिकाको सुरक्षा सुनिश्चितता तथा यस्ता घटनाप्रति सरकार र सुरक्षा निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएका हुन् ।
सांसद पूजा चौधरीले बालिकाको हत्या घटनामा संलग्नलाई तत्काल कारबाही गर्दै बालबालिका तथा महिलामाथिको हिंसा रोक्न र सुरक्षा सुनिश्चित गर्न माग गरिन् । सांसद रेणु चन्दले बालिका हराएको उजुरीप्रति सरकार तथा सुरक्षा निकाय गम्भीर नभएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरिन् । सांसद विष्णुदेवी पुडासैनीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजाय दिन माग गरिन् ।
बैठकमा सांसद मनरुपा शर्माले वैदेशिक रोजगारीका क्रममा दुबईमा मृत्यु भएका पर्वतका नारायण सार्कीको शव तत्काल नेपाल ल्याउन तथा परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद रुक्मिणी कोइरालाले नयाँ बजेट तथा कार्यक्रमको प्रभाव जनताको दैनिक जीवनमा देखिनुपर्ने बताउँदै कृषकले उचित मूल्य पाउने, महिलाको सुरक्षा सुनिश्चित हुने र युवालाई रोजगारीको अवसर सिर्जना हुने गरी काम गर्न सरकारलाई सुझाव दिइन् ।
यसैगरी, शून्य समयमा सांसदहरूले बाढी तथा पहिरोबाट विस्थापित नागरिकको तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णबहादुर रोकायाले रोल्पा र बाजुरामा बाढी तथा पहिरोबाट भएको क्षतिको मूल्याङ्कन गरी विस्थापितको उद्धार, राहत तथा जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन माग गरे ।
सांसद घनश्याम रिजालले दीपा नेपालीको सत्याग्रह तथा ‘कोठा खाली छ सरकार’ नारासहित भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समस्या समाधान गर्न सुझाव दिए ।
सांसद पदमबहादुर परियारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न तथा उहाँलाई सहिद घोषणा गर्न माग गरे ।
सांसद विष्णुकुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा सिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाही गर्न माग गरिन् ।
त्यस्तै, सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूको स्वकीय सचिवालयमा कर्मचारीको सङ्ख्या बढाइएकोप्रति असन्तुष्टि जनाउँदै कर्मचारी सङ्ख्या कटौती गर्न माग गरे ।
