






विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–६ को कोयलपुरस्थित नहर नजिकको झाडीमा शनिबार अपराह्न एक युवतीको शव भेटियो । त्यो सडेको र दुर्गन्धित अवस्थामा थियो । नग्न अवस्थामा शव फेला परेपछि प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको छ । तर, घटनाको गुत्थी अझै खुल्न सकेको छैन ।
प्रहरीले घटनालाई बलात्कारपछि हत्या भएको आशंकाका साथ अनुसन्धान अघि बढाएको छ । तर, मृतकको पहिचान भने खुल्न निकै कठिन भई रहेको छ । मोरङ प्रहरीले यो घटनालाई निकै मिहीन ढंगले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अघि बढ्दै गर्दा प्रहरीले मृतकका लुगाफाटा, चप्पल, कपालमा लगाउने क्लिप आदि आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । कसैले ती कपडाको पहिचान गरे प्रहरीकहाँ आई जानकारी दिन भनेको छ ।
युवतीको शव सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर नजिक झाडीमा फेला परेको थियो । प्रहरीका अनुसार युवतीको अनुहार तथा शरीरका विभिन्न भागहरूमा किरा लागेको र शव कुहिएको अवस्थामा थियो । यसबाट पहिचान गर्न निकै कठिनाई भएको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनाको अनुसन्धान सुक्ष्म र तदारुकतासाथ भई रहेको बताएकी छिन् । उनले भनिन्, “ हेर्दा चिन्नै सक्ने अवस्था छैन, तर विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं । ”
शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ। डीएसपी चुँडालका अनुसार, मृतक युवतीको उमेर २० वर्षभन्दा कम हुनसक्ने अनुमान गरिएको छ। शवको माथिल्लो भित्री वस्त्र रहेको अवस्थामा भेटिएको थियो । तर, कम्मरभन्दा तलका सबै कपडा खोलिएको थियो । घटनास्थलमा मृतकले लगाएका पाइन्ट, चप्पल र अन्य सामग्री पनि छेउमै असरल्ल थिए ।
ती युवती को थिइन प्रहरीलाई पनि पत्ता लगाउन हम्मेहम्मे भएको छ ।