विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष सीतादेवी राजवंशीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्।
गाउँपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक आम्दानीलाई बजेटको मुख्य स्रोतका रूपमा लिएको जनाएको छ। बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ४९ लाख ९० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट १० करोड २० लाख ६१ हजार रुपैयाँ, रोयल्टीबापत १५ लाख रुपैयाँ, सशर्त अनुदान १६ करोड ६५ लाख रुपैयाँ, समपूरक अनुदान ६५ लाख रुपैयाँ तथा विशेष अनुदान ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट सवारी साधन करअन्तर्गत राजस्व बाँडफाँटबापत ८८ लाख ७३ हजार ५१२ रुपैयाँ, समानीकरण अनुदान १ करोड १६ लाख ९८ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ४५ लाख ९० हजार रुपैयाँ र समपूरक अनुदान ७४ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेट चालु वर्षको तुलनामा करिब ३ करोड रुपैयाँ बढी हो।
बजेट सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष देवराज चौधरीले पूर्वाधार विकास, कृषि प्रवर्द्धन र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताए। नागरिकका प्रत्यक्ष आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित बजेट तयार गरिएको उल्लेख गर्दै उनले प्रभावकारी कार्यान्वयनमार्फत गाउँपालिकाको समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले कटहरी गाउँपालिकाले पूर्वाधार विकासमा गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गरे। उनले दिगो र योजनाबद्ध विकासका लक्ष्य निर्धारण गरी अघि बढ्न स्थानीय तहलाई सुझाव दिएका छन्।


