काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता दिएको भन्दै यसलाई राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा भएको बताएका छन् ।
१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिक सर्वोच्चताको अभ्यास स्थापित गरेको बताए । उनले गणतन्त्रले जाति, भाषा, धर्म, संस्कृति र भूमिमाथिको स्वामित्व सुनिश्चित गर्दै समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर प्रदान गरेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्रै नभई राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको बताए । उनले यसको मर्यादा जोगाउन राजनीतिक निष्ठा, मूल्यमान्यता र आचरणमा परिवर्तन आवश्यक रहेको धारणा राखे ।
उनले सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थक अभ्यासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । राजनीति, राज्य सञ्चालन र सार्वजनिक जीवनलाई नैतिकता तथा जिम्मेवारीभित्र राख्नुपर्ने उल्लेख गर्दै उनले ढिलासुस्ती, अनियमितता र बेथितिलाई मुलुकको सबैभन्दा ठूलो शत्रुका रूपमा चित्रित गरे ।
राष्ट्रपति पौडेलले बलियो जनादेशसहित गठन भएको वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको बताए । उनले शासकीय सुधारका सय कार्यसूची कार्यान्वयनसँगै संरचनागत र कानुनी सुधारमार्फत जनतामा आशा जाग्ने विश्वास व्यक्त गरे ।
उनले राजनीतिक परिवर्तन मात्रै पर्याप्त नहुने भन्दै राज्यसत्ता, राजनीतिक नेतृत्व र शासनशैलीको चरित्रमा पनि परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्रको उत्कृष्टता हासिल गर्न राजनीतिक दल, जनप्रतिनिधिमूलक संस्था र शासन प्रणालीलाई लोकतान्त्रिक, निष्पक्ष, प्रभावकारी र परिणाममुखी बनाउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले नागरिकले अहिले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको विकासका लागि राष्ट्रिय स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्दै उनले नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक समाजवादका मान्यतामार्फत यसलाई थप सुदृढ बनाएको धारणा राखे ।
उनले स्थानीय र प्रदेश सरकारले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै गाउँ–गाउँसम्म नागरिकले सार्वभौमिकताको अभ्यास गरिरहेको बताए । लोकतन्त्रमा अन्तिम मालिक जनता नै भएको मान्यता स्थापित भएको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले गणतन्त्र स्थापना तथा लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलन र संघर्षमा ज्यान आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । साथै, जेल, निर्वासन र यातना सहेर परिवर्तनका लागि संघर्ष गर्ने लोकतन्त्रका योद्धा, अग्रज नेता, नागरिक समाज र राजनीतिक दलप्रति सम्मान तथा आभार प्रकट गरे ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
गणतन्त्र स्थापना पछिका समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहे पनि यसपटक मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गरेका थिए ।
