विराटनगर । भारतले दुई साताअघि चिया आयातमा लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’का कारण नेपालबाट हुने चिया निर्यात प्रभावित बनेको थियो । भारतीय पक्षले प्रयोगशाला परीक्षणसम्बन्धी कडाइ केही खुकुलो बनाएपछि अहिले निर्यात पुनः सुरु भएको छ ।
भारतीय पक्षले नेपाली चियामा बारम्बार अवरोध सिर्जना गर्नुको मुख्य कारण परीक्षण मापदण्ड र प्रयोगशाला मान्यतालाई मानिएको छ । नेपालमा अहिले पनि भारत वा अन्य चिया आयातकर्ता मुलुकले मान्यता दिएको प्रयोगशाला नहुँदा नेपाली चिया निर्यातमा समस्या दोहोरिने गरेको व्यवसायीहरू बताउँछन् ।
यहीबीच कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिया परीक्षण प्रयोगशाला तथा अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । तर, यसअघि निर्माण भएका संरचनासमेत पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको अवस्थामा प्रदेश सरकारको योजना पुनः चर्चामा आएको हो ।
हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र खाद्य प्रविधि विभागले सीमित परीक्षण गर्दै आएका छन् । तर, विज्ञहरूका अनुसार ती परीक्षणलाई भारतले मान्यता नदिँदा निर्यातमा व्यावहारिक उपयोग हुन सकेको छैन ।
चिया निर्यातकर्ता शिवकुमार गुप्ता र आदित्य पराजुलीका अनुसार नेपाली चियाको करिब ७० प्रतिशत बजार भारत भए पनि नेपालमा गरिएका परीक्षण रिपोर्ट भारतीय चिया विकास बोर्डले स्वीकार गर्दैन । गुप्ताका अनुसार भारतले विषादी अवशेषसम्बन्धी विस्तृत परीक्षण रिपोर्ट माग्ने गरेको छ, जुन नेपाली सरकारी प्रयोगशालाबाट सम्भव छैन ।
व्यवसायी पराजुलीले इलामको फिक्कलमा स्थापना गरिएको प्रयोगशालाको स्थानसमेत व्यावहारिक नभएको बताए । उनका अनुसार अधिकांश चिया उत्पादन र निर्यात झापाबाट हुने भएकाले फिक्कलमा केन्द्रित संरचनाले अपेक्षित प्रभाव दिन सक्दैन ।
निजी क्षेत्रको ‘जेस्ट लेबोरेटोरिज’ले भने अन्तर्राष्ट्रिय स्तरको परीक्षण सेवा दिन सक्ने दाबी गर्दै आएको छ । तर, सरकारी तहमा द्विपक्षीय सम्झौता नहुँदा त्यस्ता रिपोर्टलाई पनि भारतले आधिकारिक मान्यता दिएको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईका अनुसार नेपाली प्रयोगशालाको रिपोर्टलाई भारत वा तेस्रो मुलुकले स्वीकार गर्न दुई देशबीच समझदारी आवश्यक पर्छ । साथै, प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट प्रमाणीकरणसमेत लिनुपर्ने हुन्छ ।
उनका अनुसार दक्ष जनशक्तिको अभाव पनि अर्को चुनौती हो । करोडौँ लगानीमा उपकरण ल्याइए पनि त्यसलाई सञ्चालन गर्ने विशेषज्ञ कर्मचारीलाई सरकारी सेवामा टिकाइराख्न कठिन हुने गरेको छ ।
कृषि विज्ञ डा. राजेन्द्र उप्रेतीले भने सरकारको प्राथमिकता संरचना निर्माणमै सीमित भएको टिप्पणी गरेका छन् । उनका अनुसार भवन निर्माणमा करोडौँ खर्च भए पनि प्रयोगशाला सञ्चालनका आधारभूत आवश्यकता र प्राविधिक व्यवस्थापनमा पर्याप्त ध्यान दिइएको छैन ।
इलामको कन्याममा १३ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ उद्घाटन भएको डेढ वर्ष पुग्न लाग्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । २०८० मंसिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेको उक्त केन्द्रमा होटल, सेमिनार हल, चिया सङ्ग्रहालय र प्रयोगशालाको संरचना निर्माण गरिएको थियो ।
तर, प्रयोगशाला सञ्चालनका लागि आवश्यक पानीको व्यवस्थासमेत सुरुवातमै नहुँदा संरचना उपयोगविहीन बनेको आलोचना हुँदै आएको छ । अहिले त्यहाँ पानी पुर्याउने काम भइरहेको जनाइएको छ ।
विज्ञ उप्रेतीका अनुसार नेपाल सरकारले भारतसहित अन्य मुलुकसँग नेपाली प्रयोगशालाको रिपोर्टलाई मान्यता दिलाउन कूटनीतिक पहल नगरेसम्म नयाँ प्रयोगशाला निर्माणले मात्र समस्या समाधान नहुने बताएका छन् । निजी क्षेत्रसँग सहकार्य, दक्ष जनशक्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण भए मात्र नेपाली चिया परीक्षण प्रणाली प्रभावकारी बन्ने उनको भनाइ छ ।
