काठमाडौँ | साताको कारोबारको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६५४ दशमलव १५ बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६२ अङ्कले घटेर ४६४ दशमलव ७३ बिन्दुमा कायम भएको छ ।
फ्लोट परिसूचक एक दशमलव ०३ अङ्कले घटेर १८२ दशमलव २६ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ९१ अङ्कले घटेर १५७ दशमलव ३४ बिन्दुमा पुगेको छ ।
आज कुल एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ रुपैयाँमा कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको सूचक बढ्दा बाँकी १२ उपसमूह ओरालो लागेका छन् । आज ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको घटेको छ ।
यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर र एनआइबिएल समृद्धि फण्ड–२ का लगानीकर्ताले लाभ लिएका छन् । यसैगरी एलएस होरिजन, मेगा म्युचुअल फण्ड र लक्ष्मी भ्यालु फण्डलगायतका लगानीकर्ताले भने घाटा व्यहोरेका छन् ।
