Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

ट्रम्पद्वारा जन्मसिद्ध नागरिकता सीमित गर्ने नयाँ कार्यकारी आदेश जारी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २२, २०८३  | बिहान ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ ढंगले अघि बढाएका छन्। अमेरिकी सर्वोच्च अदालतले यसअघि उनको आदेश कार्यान्वयनमा रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको छ भने दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासलाई रोक्ने व्यवस्था गरेको छ।

बिज्ञापन

ह्वाइट हाउसको ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकता सम्बन्धी व्यवस्था धेरैअघि नै परिवर्तन हुनुपर्ने दाबी गरे। उनले यसअघि आफ्नो आदेश सर्वोच्च अदालतले रोक लगाएको निर्णयप्रति पनि असन्तुष्टि व्यक्त गरे।

पहिलो कार्यकारी आदेशअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा, यदि तीमध्ये एक जना विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी, जालसाजीमार्फत अमेरिकी नागरिकता लिन खोजेका व्यक्ति वा संघीय कानुनअनुसार स्वतः नागरिकता नदिइने अमेरिकी भूभागका बासिन्दा भएमा त्यस्ता शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्।

ट्रम्प प्रशासनले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्न यस्तो कदम आवश्यक भएको जनाएको छ। प्रशासनले विशेषगरी रुस र चीनका केही नागरिकले जन्मसिद्ध नागरिकताको व्यवस्थाको फाइदा उठाउँदै अमेरिकामा प्रभाव विस्तार गर्न खोजेको आरोप पनि लगाएको छ।

ट्रम्पले ‘बर्थ टुरिजम’ मार्फत सयौं हजार बालबालिका अमेरिकामा जन्मिएको दाबी गरे पनि गैरदलीय अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार यस्तो संख्या वार्षिक करिब २२ हजारदेखि २६ हजारको बीचमा रहेको अनुमान छ। संस्थाले सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट अमेरिकामा ९ हजार ६ सय शिशु जन्मिएको सरकारी तथ्यांक पनि उल्लेख गरेको छ।

ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टिफन मिलरले पर्यटक वा आगन्तुकका रूपमा अमेरिका प्रवेश गर्ने केही व्यक्तिको वास्तविक उद्देश्य बच्चा जन्माएर अमेरिकी नागरिकता दिलाउनु रहेको दाबी गरे। उनका अनुसार त्यसपछि ती बालबालिकाले अमेरिकी नागरिकका रूपमा विभिन्न सुविधा र अधिकार प्राप्त गर्छन्।

मिलरले राष्ट्रपति ट्रम्पसँग आप्रवासन तथा राष्ट्रियता ऐनअन्तर्गत अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने अधिकार भएकाले ‘बर्थ टुरिजम’ नियन्त्रण गर्न सक्ने तर्क पनि गरेका छन्।

यसअघि ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेलगत्तै अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेश जारी गरेका थिए। तर उक्त आदेशविरुद्ध परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले गत जुनमा कार्यान्वयन रोक्दै जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत् रहने फैसला सुनाएको थियो।

बिहीबार ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई ‘अन्यायपूर्ण र गलत’ भन्दै फरक कानुनी उपायमार्फत आफ्नो लक्ष्य हासिल गर्ने प्रयास जारी रहने बताएका छन्।

यद्यपि, अमेरिकी कानुनविद् गेब्रियल चिनले नयाँ आदेशका केही प्रावधान कानुनी रूपमा टिक्न सक्ने भए पनि केही व्यवस्थाले गम्भीर संवैधानिक प्रश्न उठाउने बताएका छन्। बीबीसीसँगको कुराकानीमा उनले केवल बच्चा जन्माउने उद्देश्यले अमेरिका आउने व्यक्तिमाथि केही सीमा लगाउन राष्ट्रपतिलाई अधिकार हुन सक्ने स्वीकार गरे पनि अमेरिका भित्र जन्मिइसकेपछि शिशुलाई अमेरिकी नागरिक नमान्ने अधिकार राष्ट्रपतिसँग नरहेको तर्क गरेका छन्।

उनका अनुसार ‘बर्थ टुरिजम’ अमेरिकामा हुने कुल जन्मदरको तुलनामा अत्यन्तै सानो हिस्सा मात्र भएकाले यसलाई असामान्य प्रकृतिको घटना मानिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa