काठमाडौं । विभिन्न सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ५२६ जना रोहिंग्या समुदायका व्यक्ति नेपालमा रहेको पाइएको छ । नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका व्यक्ति अवैध वा अनौपचारिक बाटो हुँदै नेपाल प्रवेश गरेको खुलेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा हालसम्मको अनुसन्धानबाट ५२६ जना रोहिंग्या नेपालमा रहेको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार नेपालमा रहेका रोहिंग्यामध्ये १६२ जना पुरुष, १४८ जना महिला र २१६ जना बालबालिका रहेका छन् । उनीहरू काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएको अनुसन्धानबाट देखिएको छ ।
प्रहरीका अनुसार रोहिंग्या समुदायका व्यक्ति काठमाडौंको कपन, राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको पाइएको छ । उनीहरूको नेपाल प्रवेशको बाटो, बसोबास व्यवस्थापन गर्ने व्यक्ति वा समूह तथा कानुनी अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि नेपालमा रोहिंग्या समुदायका व्यक्ति प्रवेश गरेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको थियो ।
म्यानमारमा लामो समयदेखि हिंसा र विस्थापनको सामना गर्दै आएका रोहिंग्या समुदायका हजारौं व्यक्ति विभिन्न मुलुकमा शरण लिएर बस्दै आएका छन् । नेपालमा पनि पछिल्लो समय उनीहरूको प्रवेश र बसोबासको विषय सुरक्षा निकायको चासोको विषय बनेको छ । सरकारले उनीहरूको आगमन, पहिचान र व्यवस्थापनका विषयमा आवश्यक अध्ययन गरिरहेको जनाएको छ ।
