विराटनगर । कांग्रेस नेता अभिषेक गिरी धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि तोकिएको रकम बुझाउन नसकेपछि गिरीलाई डिल्लीबजार कारागार पठाइएको हो ।
विराटनगर महानगरपालिका–८, मधुमाराका ४८ वर्षीय गिरीमाथि निर्माण व्यवसायी सुवास श्रेष्ठले ठेक्का मिलाइदिने भन्दै विभिन्न प्रभाव प्रयोग गर्ने आश्वासन दिएर रकम असुलेको आरोप लगाउँदै उजुरी दिएका थिए ।
उक्त उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असार २३ गते मोरङबाट गिरीलाई पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानपछि गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको दाबी गर्दै पीडितलाई क्षतिपूर्ति भराउने गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत साउन १४ गते गिरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
तर अदालतको आदेशअनुसार धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो ।
प्रहरी अनुसन्धानअनुसार श्रेष्ठले पाएको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै गिरीले रकम लिएको आरोप छ । गिरीविरुद्ध मोरङमा समेत अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
