काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।
हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती र कर्णाली प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले निरन्तर वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। सम्भावित विपद्का कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउँदै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
