सांकेतिक तस्बिर
विराटनगर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारीलाई अतिरिक्त समयसम्म काममा लगाउन नपाइने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकका अनुसार कर्मचारीलाई प्रचलित कानुन तथा राष्ट्र बैंकका निर्देशनअनुसार मात्र काममा लगाउनुपर्नेछ। कार्यालय समयपछि अतिरिक्त समयमा काममा खटाइएमा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक अनिवार्य रूपमा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, कर्मचारीलाई जबरजस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने स्पष्ट व्यवस्था पनि गरिएको छ।
यसका अतिरिक्त राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गमैत्री तथा समावेशी बैंकिङ सेवा विस्तारमा जोड दिएको छ। सोअनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन निर्देशन दिइएको छ।
यस्ता सेवाग्राहीका लागि सहज पहुँच सुनिश्चित गर्न विशेष काउन्टर तोकी सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। साथै, प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउन बैंकहरूलाई अन्य संस्थासँग सहकार्य गर्न समेत निर्देशन दिइएको छ। त्यस्ता शाखाको विवरण सम्बन्धित बैंकहरूले आफ्नो वेबसाइटमा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्नेछ।
त्यसैगरी, एटीएम सेवा भएका स्थानमा कम्तीमा एक अपाङ्गमैत्री एटीएम जडान गर्नुपर्ने व्यवस्था गरिएको छ, जसमा ब्रेल संकेत, कन्ट्रोल बटन र अडियो सपोर्ट जस्ता सुविधा समावेश हुनुपर्नेछ। यस्ता एटीएमको विवरण पनि वेबसाइटमा राख्नुपर्नेछ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम जस्ता डिजिटल सेवा अपाङ्गता भएका व्यक्तिले आफैं प्रयोग गर्न नसक्ने अवस्थामा स्वघोषणा गरेमा सम्बन्धित बैंकले आवश्यक सहयोगसहित सेवा उपलब्ध गराउनुपर्नेछ।
साथै, बैंक तथा वित्तीय संस्थाका वेबसाइट तथा मोबाइल बैंकिङ एपहरू दृष्टिविहीन व्यक्तिले पनि सजिलै प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने निर्देशन दिइएको छ। डेबिट तथा क्रेडिट कार्डमा पनि दृष्टिविहीनमैत्री ट्याक्टाइल फिचर समावेश गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
