काठमाडौं । मोरङ उद्योग व्यापार संघको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
आज (मिति २०८३ जेठ ७ गते, बुधवार) कोशी प्रदेशको मोरङमा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । विशेष अतिथिका रूपमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश प्रमुख बिर बहादुर बुढामगर तथा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानका करिब ५० जनाको सहभागिता रहेको थियो ।
इन्सेक कोशी प्रदेशले आयोजना गरेको छलफलमा व्यवसाय र मानव अधिकारबीचको सम्बन्ध, उद्योगी–व्यवसायीको संरक्षण तथा संवर्द्धनमा राज्यको भूमिका, व्यवसायमार्फत सामाजिक उत्तरदायित्व, तथा संयुक्त राष्ट्रसंघीय सिद्धान्त २०११ लगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागीहरूले व्यवसाय सञ्चालनका क्रममा देखिने मानव अधिकारसँग सम्बन्धित चुनौतीहरू, श्रमिक अधिकार र राज्य तथा निजी क्षेत्रबीचको सहकार्यबारे आ–आफ्ना धारणा राखेका थिए ।
छलफलले व्यवसायिक वातावरण सुधार र मानव अधिकार संरक्षणलाई एकसाथ अघि बढाउनुपर्ने निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।
