विराटनगर । मोरङ उद्योग व्यापार संघ र ईन्स्योर परियोजनाको सहकार्य तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको २४ दिने ‘हिटिङ, भेन्टिलेसन तथा एसी प्रणाली’ सम्बन्धी सीप स्तरोन्नति तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चैत १ गतेदेखि सुरु भएको उक्त तालिमको समापन कार्यक्रम आज संघको सभाहलमा सम्पन्न गरिएको हो।
संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा तालिम समापन गरिएको थियो। औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको सीप अभिवृद्धि गरी उत्पादन क्षमता वृद्धि गर्ने तथा उद्योगहरूको समग्र कार्यक्षमता सुदृढ बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको संघले जनाएको छ।
संघका कार्यसमिति सदस्य अमित राठीको संयोजकत्वमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा कार्यरत मेकानिकल क्षेत्रका श्रमिकलाई लक्षित गर्दै चैत १ देखि २४ गतेसम्म तालिम सञ्चालन गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष अनिल कुमार साहले संघले विगतदेखि नै औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानका लागि आवश्यक विभिन्न विषयगत सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले यस तालिमले उद्योग, होटल तथा अस्पताल क्षेत्रमा कार्यरत प्राविधिकहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार थप तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
तालिम संयोजक अमित राठीले मोरङ–सुनसरी औद्योगिक करिडोरमा कार्यरत जनशक्तिको सीप विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ स्तरीय तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। ईन्स्योर परियोजनाका प्राविधिक संयोजक रेखा उप्रेतीले यस्ता तालिमले औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको दक्षता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिम प्रभावकारी र उपयोगी रहेको प्रतिक्रिया दिँदै आफ्नो प्राविधिक सीपमा उल्लेखनीय सुधार आएको बताए। साथै, प्रविधिको तीव्र विकाससँगै यस्ता उन्नत तालिम निरन्तर सञ्चालन गर्न आयोजकसँग आग्रह गरेका छन्।
तालिममा विभिन्न उद्योग, होटल तथा अस्पतालमा कार्यरत २० जना प्राविधिकको सहभागिता रहेको थियो। तालिमको कुल लागतमध्ये ८० प्रतिशत खर्च ईन्स्योर/हेल्भेटास परियोजनाले र २० प्रतिशत खर्च मोरङ उद्योग व्यापार संघले व्यहोरेको जनाएको छ।
समापन कार्यक्रममा संघका महासचिव सञ्जय कुमार श्रेष्ठ, प्रशिक्षक किरण प्रसाद मण्डल, कार्यसमिति सदस्य, सचिवालयका कर्मचारी, ईन्स्योर परियोजनाका प्रतिनिधि, प्रशिक्षार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
