विराटनगर । पुस ९ गतेदेखि विराटनगरमा सुरु हुने विराट ट्रेड एक्स्पोको तयारी तीव्र भएको छ ।
एक्सपोआयोजना गर्न स्थायी सरकारी संरचना नहुँदा विराटनगरमा खाली भागमा भौतारिँनु पर्ने अवस्था छ ।
विराटनगरकाउद्योगी तथा व्यावसायीले स्थायी औद्योगिक प्रदर्शनी स्थलको माग गर्दै आएका छन् । यस पटकको एक्स्पो जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको खाली जग्गामा आयोजना हुँदैछ । एक्स्पोको धेरै तयारी पूरा भई सकेको मोरङ उद्योग व्यापार संघले जनाएको छ ।
प्रत्येक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको विराट ट्रेड एक्स्पोलाई विराटनगर तथा आसपासका क्षेत्रका बासिन्दाहरूले पर्वकै रूपमा लिने गरेका छन्। हरेक वर्ष केही नयाँ र फरक प्रस्तुत गर्ने लक्ष्यसहित आयोजक समितिले यस वर्ष ‘जलपरी’लाई प्रमुख आकर्षणको रूपमा समावेश गरेको छ।
एक्स्पोबारे जानकारी दिँदै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सबै तयारी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। उनका अनुसार एक्स्पोको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गर्ने कार्यक्रम तय भएको छ।
प्रदर्शनी स्थलमा तीनवटा ठूला डोम निर्माण गरिएको छ, जहाँ नेपालसहित विभिन्न देशका सामग्रीहरूको बिक्री तथा प्रदर्शनी गरिनेछ। अटोमोबाइल क्षेत्रका लागि छुट्टै स्टलहरूको व्यवस्था गरिएको छ।
मनोरञ्जनतर्फ रोटेपिङ, मौतका कुवा, डान्सिङ कारजस्ता आकर्षणहरू रहनेछन् भने रातको समयमा देशका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति समेत आयोजना गरिने आयोजकले जनाएको छ।
पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने विराट ट्रेड एक्स्पोमा लाखौँ दर्शक तथा उपभोक्ताको सहभागिता हुने अनुमान गरिएको छ।
