काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ।
वैशाख २, २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा राखिएको छ।
अध्यक्ष भण्डारीले कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। त्यसपछि अन्य सदस्यहरू—पूर्व पुनरावेदन अदालतका मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल—लाई अध्यक्ष भण्डारीले शपथ गराएका हुन्।
जाँचबुझ ऐन २०२६ अनुसार काम गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) पनि स्वीकृत भइसकेको छ। एक वर्षे कार्यकाल रहेको आयोगले हाल तथा पूर्व सार्वजनिक पदाधिकारी र उनीहरूका परिवारको स्वदेश तथा विदेशमा रहेका सम्पत्तिको विवरण संकलन गरी विस्तृत छानबिन गर्नेछ।
