काठमाडौं । अप्रिल ११ को बिहान, जब इस्लामावाद मा पहिलो घाम उदाउँदै थियो, पाकिस्तानको राजधानी एक असाधारण क्षणको साक्षी बन्न तयार हुँदै थियो। सेरेना होटल इस्लामावाद वरिपरि सयौँ सशस्त्र सुरक्षाकर्मी परिचालित थिए, सडकहरू सुनसान थिए, र हवाई मार्ग कडाइका साथ नियन्त्रणमा राखिएको थियो।
एकतर्फ विश्वकै शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका थियो भने अर्कोतर्फ ४० दिन लामो विनाशकारी युद्ध, सर्वोच्च नेताको हत्या र ध्वस्त सहरहरूको पीडाबाट गुज्रिएको इरान थियो। यी दुईबीच पाकिस्तान मध्यस्थकर्ताको भूमिकामा उभिएको थियो।
यो वार्ता सन् २०१५ मा बराक ओबामा प्रशासनले इरानसँग गरेको परमाणु सम्झौतापछि पहिलो प्रत्यक्ष उच्चस्तरीय अमेरिका–इरान संवाद थियो। साथै, यो सन् १९७९ को इरानी इस्लामिक क्रान्ति यताकै पहिलो औपचारिक प्रत्यक्ष वार्ता पनि मानिन्छ।
अप्रिल १२ को बिहान, करिब २१ घण्टा लामो छलफलपछि वार्ता टुंगियो। यद्यपि ठोस सहमति हुन सकेन, तर यो दिन इतिहासमा महत्त्वपूर्ण मोडका रूपमा सम्झिइनेछ।
यस वार्ताको पृष्ठभूमि बुझ्न फेब्रुअरी २८, २०२६ मा फर्कनुपर्छ। सो दिन संयुक्त राज्य अमेरिका र इजरायल को संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अली खामेनी मारिएका थिए। उक्त आक्रमण इरानको आणविक कार्यक्रम र मध्यपूर्वमा बढ्दो प्रभावलाई नियन्त्रण गर्ने अमेरिकी रणनीतिको हिस्सा थियो, जसले पश्चिम एसियाको शक्ति सन्तुलनमा गहिरो प्रभाव पारेको थियो।
प्रतिक्रियास्वरूप, इरानले विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने हर्मुज जलडमरूमध्य बन्द गर्यो। त्यसपछि करिब ६ हप्तासम्म पश्चिम एसिया द्वन्द्वको चपेटामा रह्यो। इरानले आफ्ना क्षेत्रीय सहयोगीमार्फत आक्रमण तीव्र बनायो भने अमेरिकाले इरानका पूर्वाधार, सैन्य केन्द्र र ऊर्जा संरचनामा लगातार आक्रमण गरिरह्यो। साथै, लेबनान मा इरान समर्थित हिजबुल्लाह र इजरायल बीच स्थलीय युद्ध जारी रह्यो।
