Premier Cables
Premier Steel

अर्थ विराटनगर

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ११, २०८३  | बिहान १०:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगरमा पहिलो पटक खुलेको पाँचतारे होटल पूर्ण रुपमा संचालनमा नआउँदै संकटमा परेको छ । बैंकबाट लिएको ऋणको किस्ता तिर्न नसक्दा शुभ इन्टरनेसनल वित्तीय संकटमा परेको हो ।

विराटनगरमा निर्माणाधीन पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनको तयारीमा रहेको छ । केही अघिमात्र विराटनगरका संचारकर्मीलाई होटल घुमाएर ‘प्रिमियर’ समेत गरिएको थियो । तर, शुभ इन्टरनेसनल हस्पिटालिटीले बैंकबाट लिएको करिब सवा अर्ब रुपैयाँ ऋणको किस्ता समयमै बुझाउन नसकेको हो । यसबारे क्रेडिट रेटिङ कम्पनी ईक्रा नेपालले उल्लेख गरेको छ।

बिज्ञापन

बैंकको ऋण र ब्याज भुक्तानीमा ढिलाइ गरेको भन्दै रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘डिफल्ट’ अर्थात कर्जा तिर्न नसकेको श्रेणीमा झारिदिएको छ। इक्रा नेपालले कम्पनीको एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाको रेटिङलाई ‘एलबी’बाट घटाएर ‘एलडी’ कायम गरेको छ।

त्यसैगरी, अल्पकालीन कर्जाको रेटिङलाई पनि ‘ए फोर’बाट घटाएर ‘डी’ रेटिङ दिएको छ। यी रेटिङहरूले कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न नसकेको र कर्जा भुक्तानीमा गम्भीर समस्या रहेको स्पष्ट संकेत गर्छन्।

इक्राको रिपोर्टअनुसार कम्पनीले बैंकहरूलाई बुझाउनुपर्ने साँवा तथा ब्याजको किस्ता ३० दिनभन्दा बढी समयदेखि बक्यौता राखेका कारण रेटिङ घटाउनु परेको हो। सन् २०२५ अक्टोबरको मध्यदेखि ऋणको भुक्तानी तालिका सुरु भए पनि आयोजना सञ्चालनमा नआउँदा र आम्दानी सुरु नहुँदा तरलतामा चाप परेको देखिन्छ।

कम्पनीले २०२६ मे १५ सम्ममा मात्रै होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। तर, आम्दानी हुनुअघि ऋण तिर्ने दबाब सिर्जना हुँदा यो स्थिति आएको हो।

होटलको निर्माण लागतमा भएको भारी वृद्धिले पनि कम्पनीलाई थप संकटमा पारेको छ। सुरुवाती अनुमानभन्दा आयोजनाको लागत करिब १२ प्रतिशतले बढेर एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यो भनेको प्रतिकोठा करिब २ करोड २० लाख रुपैयाँ लागत हो। लागत बढेसँगै कम्पनीले ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीको अनुपातमा लगानी जुटाउने प्रस्ताव गरेको छ। जुन वित्तीय दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ।

विराटनगरको भृकुटी चोकमा निर्माणाधीन यो होटल ८० कोठाको छ। जसमध्ये पहिलो चरणमा ५६ वटा कोठा सञ्चालनमा ल्याइने छ। भारतीय प्रसिद्ध होटल चेन ‘लेमन ट्री’सँगको सहकार्य र सीमा नजिक भएकाले भारतीय पर्यटक तथा क्यासिनोका ग्राहक तान्न सक्ने सम्भावना यसको सबल पक्ष हो। यद्यपि, विराटनगरमा बढ्दो प्रतिस्पर्धा र सुस्त आर्थिक गतिविधिले होटल सञ्चालनमा आएपछि पनि नाफा कमाउन समय लाग्ने देखिएको छ।

इक्रा नेपालका अनुसार कम्पनीको आगामी वित्तीय भविष्य अब प्रवद्र्धकहरूले थप पुँजी लगानी गर्न सक्ने क्षमता र होटलको समयमै सञ्चालनमा निर्भर रहने छ। कर्जाको नियमित भुक्तानी सुरु नभएसम्म र कम्तीमा ९० दिनसम्म समयमै किस्ता नतिरेसम्म यो रेटिङमा सुधार हुने सम्भावना न्यून रहेको रिपोर्टमा उल्लेख छ।

कम्पनीको अध्यक्ष केविन श्रेष्ठ हुन् । कम्पनीमा विनय चौधरी अग्रवालको २९.० प्रतिशत, सीतादेवी चौधरी अग्रवालको २९.० प्रतिशत, प्रशान्त टाटेरको २२.० प्रतिशत, केविन श्रेष्ठको ११.२ प्रतिशत, श्रीमती देवकला श्रेष्ठको ४.१ प्रतिशत, गंगा खतिवडाको २.८ प्रतिशत र पायल चौधरी अग्रवालको १.९ प्रतिशत सेयर स्वामित्व छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa