विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि ३४ जनाले आवेदन दिएका छन्।
खुला प्रतिस्पर्धामार्फत नयाँ उपकुलपति चयन गर्न सरकारले आह्वान गरेको आवेदनमा प्राज्ञिक तथा प्रशासनिक क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेख्य सहभागिता देखिएको हो।
सार्वजनिक अन्तिम सूचीअनुसार देशका विभिन्न जिल्लाबाट प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरू उपकुलपतिको दौडमा उत्रिएका छन्। यसपटकको सबैभन्दा चर्चित पक्ष भने निमित्त उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाको उम्मेदवारी बनेको छ।
यसअघि आफू उपकुलपति पदको प्रतिस्पर्धामा नरहने सार्वजनिक अभिव्यक्ति दिएका थपलियाले अन्तिम समयमा आएर आवेदन दर्ता गराएका हुन्। सूचीमा उनको नाम ३३ औँ नम्बरमा समावेश भएपछि विश्वविद्यालय वृत्तमा नयाँ बहस सुरु भएको छ।
हाल निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका थपलियाले पुनः प्रतिस्पर्धामा भाग लिएपछि छनोट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै कतिपय प्राध्यापकहरूले आलोचना गरेका छन्। केहीले “रेफ्री आफैं खेलाडी बनेको” टिप्पणीसमेत गरेका छन्।
यद्यपि थपलियानिकट स्रोतहरूले भने विश्वविद्यालयका अधुरा योजना र नीतिगत सुधारलाई पूर्णता दिन निरन्तरताको आवश्यकता रहेको भन्दै प्राज्ञिक क्षेत्रकै आग्रहमा उनले उम्मेदवारी दिएको दाबी गरेका छन्।
सरकारले सार्वजनिक गरेको नामावलीअनुसार कोसी प्रदेशबाट उल्लेख्य सहभागिता देखिएको छ। मोरङबाट मात्रै पाँच जनाले आवेदन दिएका छन्। विराटनगरका देवेन्द्र अधिकारी, उमेश कोइराला, अनिलकुमार पोखरेल र सन्देश दास श्रेष्ठ तथा बेलबारीका गोविन्दप्रसाद गुरागाईं उपकुलपतिको प्रतिस्पर्धामा छन्।
सुनसरीबाट अशोककुमार झा र सुवर्ण पोखरेल, भोजपुरकी रोजी श्रेष्ठ, खोटाङका बाबुराम तिमिल्सिना, इलामका नरेन्द्र कटुवाल र उदयपुरकी ताराकुमारी काफ्लेले पनि आवेदन दिएका छन्।
काठमाडौँ उपत्यकाबाट विजय अर्याल, उत्तमकुमार रेग्मी, दिलीप पराजुली, जगतकृष्ण पोखरेल, होमबहादुर बस्नेत, तुलसीदास श्रेष्ठ र काजिराम अधिकारी प्रतिस्पर्धामा छन्।
त्यस्तै मधेस प्रदेश तथा पश्चिम नेपालबाट डिल्लीप्रसाद पौडेल, रामदयाल यादव, नन्दकिशोर साह, राम मल्लिक, राजनारायण यादव, कादिर आलम, मुख्तार अन्सारी, विनोदकुमार यादव, कृष्णप्रसाद पाण्डे, सुजन बाबु मरहठ्ठा, ध्रुवलाल पाण्डे, माधव लम्साल, उमेशकुमार आचार्य र जनार्दन लामिछानेले पनि आवेदन दर्ता गराएका छन्।
निमित्त उपकुलपति थपलियाको अप्रत्याशित उम्मेदवारीसँगै देशभरका ३३ जना अन्य दाबेदार मैदानमा उत्रिएपछि पूर्वाञ्चल विश्वविद्यालयको नेतृत्व चयन प्रक्रिया थप रोचक बनेको छ। अब सरकारले गठन गरेको छनोट समितिले उम्मेदवारहरूको सर्टलिस्ट तयार गरी कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा नयाँ उपकुलपतिको नाम सिफारिस गर्नेछ।
कतिपयले यस प्रक्रियालाई कुलपति प्रधानमन्त्री बालेन्द्र शाह र सहकुलपति शिक्षामन्त्री सस्मित पोखरेलको नेतृत्व क्षमतासँग जोडेर पनि हेर्न थालेका छन्।
