सांकेतिक फोटो
विराटनगर । पार्टी सदस्यता अद्यावधिक नगर्नेहरूबाट जिम्मेवारी खोस्नेसम्मको चेतावनी केन्द्रबाट आएपछि नेपाली कांग्रेस मोरङका नेताहरू सदस्यता अद्यावधिक अभियानमा सक्रिय भएका छन्।
सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले सदस्यता अद्यावधिक अनिवार्य गर्ने निर्णय गरेपछि यसअघि अटेरी गर्दै आएका शेखर कोइराला पक्षका नेताहरू पनि सक्रिय हुन थालेका हुन्।
शेखर कोइराला निकट मानिने मोरङ सभापति डिगबहादुर लिम्बू सहितका नेताहरू केन्द्रको निर्देशनअनुसार परिचालित भए पनि जिल्ला उपसभापति तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरू भने अद्यावधिक नगर्ने अडानमा थिए।
नागेश कोइरालाले एक साताअघि ‘शेखर कोइरालाले अद्यावधिक गर्न नभनेसम्म हामी नगर्ने’ निर्णय भएको बताएका थिए। धनकुटाको नाम्जेमा भेला भएका शेखरनिकट मोरङका नेताहरूले यस्तो निर्णय गरेका थिए।
तर अन्य जिल्लामा धमाधम अद्यावधिक भइरहेको अवस्थामा मोरङ, विशेषगरी शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ–६ मा काम सुस्त भएपछि केन्द्र नेतृत्व असन्तुष्ट बनेको थियो। सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे तथा सहमहामन्त्री डिला संग्रौला ले यस्तो अटेरी स्वीकार्य नहुने चेतावनी दिएका थिए।
त्यसपछि आइतबार बसेको जिल्ला पदाधिकारी बैठकले जेठ २१ गतेभित्र सदस्यता अद्यावधिक सम्पन्न गर्न सबैलाई अपिल गरेको छ। अद्यावधिक कार्यको समन्वय, सहजीकरण र अनुगमनका लागि पदाधिकारी नेतृत्वमा छुट्टै समिति पनि गठन गरिएको छ।
जिल्ला सचिव मोदराज घिमिरे का अनुसार केन्द्रको निर्देशन पालना नगर्ने छुट कसैलाई नभएको भन्दै सबै क्षेत्रीय समिति, पालिका र वडा समितिलाई अद्यावधिक कार्य तीव्र बनाउन निर्देशन दिइएको छ।
हाल मोरङमा रहेका करिब २५ हजार क्रियाशील सदस्यमध्ये २५ प्रतिशतले मात्रै सदस्यता अद्यावधिक गराएका छन्। अब भने प्रक्रिया द्रुत गतिमा अघि बढाइने सचिव घिमिरेले बताएका छन्।
जिल्ला कार्यसमितिले ६ वटै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै अनुगमन टोली गठन गर्दै असहयोग गर्नेहरूविरुद्ध विधानअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।
जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले केन्द्रमा देखिएको विवाद संवादमार्फत समाधान गर्न शीर्ष नेतृत्वलाई आग्रह गर्दै जिल्ला तहमा संगठनात्मक काममा कुनै ढिलाइ स्वीकार नगर्ने सन्देश दिएको छ।
बैठकले क्षेत्र नम्बर १ मा ललित अधिकारी, २ मा मोदराज घिमिरे, ३ मा ललितबहादुर श्रेष्ठ, ४ मा भक्तिनाथ माझी, ५ मा दिलीप पोखरेल र ६ मा भुवनेश्वर मण्डल संयोजक रहने गरी अनुगमन समिति गठन गरेको छ।
केन्द्रीय समितिले भने कोशी प्रदेशको अनुगमन तथा समन्वयको जिम्मेवारी सहमहामन्त्री डिला संग्रौलालाई दिएको छ।
