काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो धार्मिक पर्व बकर इद (इदुल जोहा) आज बिहीबार देशभर श्रद्धा, आस्था र उत्साहका साथ मनाइँदैछ । त्याग, बलिदान र सामाजिक सद्भावको सन्देश बोकेको यस पर्वका अवसरमा देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि विशेष नमाज अदा गरिएको छ ।
काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत ललितपुर, भक्तपुर, विराटनगर, नेपालगञ्ज, जनकपुर, वीरगञ्ज, कपिलवस्तु, बाँके, कैलालीसहित विभिन्न जिल्लामा मुस्लिम समुदायका श्रद्धालुहरूको उल्लेख्य सहभागिता देखिएको छ ।
नमाजपछि मुस्लिम धर्मावलम्बीहरूले एकआपसमा अँगालो हालेर शुभकामना आदानप्रदान गर्दै पर्वको उल्लास साटिरहेका छन् । रमजानपछि करिब ७० दिनपछि मनाइने बकर इदलाई इस्लाम धर्ममा त्याग, समर्पण र मानवसेवाको प्रतीक पर्वका रूपमा लिइन्छ ।
धार्मिक विश्वासअनुसार हजरत इब्राहिमले अल्लाहप्रतिको पूर्ण समर्पण दर्शाउँदै आफ्ना छोरा हजरत इस्माइललाई बलिदान दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाइन्छ । इस्लाम धर्मग्रन्थअनुसार अन्तिम समयमा अल्लाहले हजरत इस्माइलको सट्टा दुम्बाको कुर्बानी स्वीकार गरेका थिए । त्यसयता मुस्लिम समुदायमा ‘कुर्बानी’ दिने परम्परा चलिआएको मान्यता छ ।
बकर इदका अवसरमा धार्मिक विधिअनुसार स्वीकार गरिएका जनावरको कुर्बानी दिइन्छ । कुर्बानीबाट प्राप्त मासुलाई तीन भागमा बाँड्ने चलन रहेको छ । एक भाग गरिब तथा असहायलाई, अर्को भाग आफन्त र छिमेकीलाई तथा बाँकी भाग आफ्नै परिवारका लागि राख्ने परम्परा रहेको मुस्लिम अगुवाहरू बताउँछन् ।
मुस्लिम समुदायले बकर इद तीन दिनसम्म मनाउने प्रचलन रहेको छ । धार्मिक मान्यताअनुसार तीनै दिन कुर्बानी दिन सकिने व्यवस्था छ ।
पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । बकर इदले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र परोपकारको भावना प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।
