विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले लगाएको ट्राउजर भाइरल भएर माग बढेपछि अहिले विराटनगरमा रहेको एउटा गार्मेन्ट उद्योगलाई मागअनुसार आपूर्ति गर्न हम्मे परेको छ । दैनिक ५०० ट्राउजर उत्पादन गर्दा पनि माग धान्न नसकेपछि गार्मेन्ट सञ्चालकले तत्कालै अर्काे प्लान्ट शुरू गर्ने योजना बनाएका छन् ।
विराटनगर–६ मा रहेको फहद एप्पेरल्समा कार्यरत १७५ जना कामदार र मास्टरलाई अहिले भ्याइनभ्याई छ । यसअघि चाडबाडमा मात्र यसरी कामको चटारो हुन्थ्यो । यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले लगाएको ट्राउजर भाइरल बनेपछि त्यस्तै ट्राउजरको माग एकाएक बढेको गार्मेन्ट सञ्चालक मोहम्मद नसरुलले बताए ।
गत वैशाख २८ गते प्रधानमन्त्री शाहले सेतो टिसर्ट र धर्के ट्राउजर लगाएको फोटो सार्वजनिक भएपछि एकाएक भाइरल बन्यो । उक्त फोटोमा प्रधानमन्त्रीले लगाएको धर्के ट्राउजरको नाम नै अहिले बालेन ट्राउजर भएको छ । त्यसपछि विराटनगरको फहद एप्पेरल्समा दैनिक ५०० थानभन्दा बढीको माग आउन थाल्यो ।
सञ्चालकले एक सिफ्टमा चल्दै आएको उद्योगलाई दुई सिफ्टमा चलाउन थाले । स्वदेशी कपडाबाट बन्ने भएकाले यसको मूल्य पनि निकै सस्तो छ । प्रधानमन्त्रीको स्वदेशी उत्पादन प्रयोग गरौं भन्ने सन्देशको कारण अहिले ट्राउजरको माग विदेशबाट समेत आउन थालेको सञ्चालक नसरुल बताउँछन् ।
उनी भन्छन्, ‘सधैं कालो कोटमा देखिने प्रधानमन्त्रीको टिसर्ट र ट्राउजर लुकलाई सबैले मन पराएपछि उक्त ट्राउजरको माग धान्नै मुश्किल भइरहेको छ ।’ दुबई, कतार, हङकङ, अस्ट्रेलियामा रहेका नेपालीले पनि फोन गरेर १–२ देखि ४–५ पिससम्मको अर्डर गर्न थालेको नसरुल बताउँछन् ।
उनको उद्योगमा ९९ प्रतिशत महिला कामदार छन् । १७५ जनाले बालेन ट्राउजर बनाउन भ्याइनभ्याई भएपछि उद्योगभन्दा केही उत्तरमा रहेको एनसेलको कार्यालयनजिकै उनले नयाँ स्थानमा भाडामा लिएर शाखा सञ्चालनको तयारी गरिरहेको बताए । नसरुल भन्छन्, ‘मेशिनहरू सेटअप गरेपछि करीब ४५ जनाले उक्त शाखामा नयाँ रोजगारी पाउनेछन् ।’ अहिले दैनिक २ लाख ५० हजार रुपैयाँभन्दा बढीको ट्राउजर मात्रै विक्री भइरहेको उनले बताए ।
प्रधानमन्त्रीले लगाएपछि चर्चित भएको ट्राउजरकै कारण आफ्नो उद्योगले थप मानिसलाई रोजगारी दिन सक्ने हुनु आफैमा गौरवको कुरा भएको भन्दै नसरुलले थपे, ‘सरकारले यस्ता साना उद्योगका लागि राम्रो नीति, नियम ल्याइयो भने रोजगारीका लागि युवायुवती विदेशिन पर्दैन ।’
नसरुल काठमाडौँ र विराटनगरका उद्योगबाट कपडा ल्याएर ट्राउजर बनाउँछन् र थोक विक्री गर्छन् । अत्यधिक माग आएपछि यो साताबाट खुद्रा विक्री पनि शुरू गर्ने उनले जानकारी दिए । नेपालकै कपडा भएको र त्यसप्रति आम उपभोक्ताको माया र चासो दुवै भएकाले आफूले उद्योग विस्तार गर्न लागेको उनको भनाइ छ ।
नसरुल अनुसार एउटा ट्राउजरको मूल्य ४५० देखि ५५० रुपैयाँसम्म छ । तीन किसिमको कपडा प्रयोग भएकाले कपडाको गुणस्तरअनुसार मूल्य फरकफरक छ । उनका अनुसार अहिले दैनिक ५०० ट्राउजर विक्रीबाट २ लाख ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ ।
ट्राउजरमात्र नभएर यसको सर्ट पनि हुने र बच्चाहरूको सेट पनि तयार गरिने उनले बताए । नसरुलले यो कपडा बनाउने गार्मेन्ट उद्योग सञ्चालन गरेको ८ वर्ष भयो । ‘यसरी कपडाको माग आएको पहिलोपटक हो,’ उनले भने ।
विराटनगरमा रहेका अन्य गार्मेन्ट उद्योगहरुले यस्तो ट्राउजर बनाएर विक्री नगरेकाले आफ्नोमा बढी माग आएको उनको भनाइ छ । नसरुलले नियमित रूपमा विक्री गर्ने पसलहरूको बाहेक पनि अर्डर आएकाले पुर्याउन निकै गाह्रो भएको छ ।
उनको गार्मेन्ट फहद एप्पेरल्सले महिला र पुरुषका रेडिमेड कपडा बनाउने गरेको छ । बजारमा आउने फेशनका आधारमा कपडा उत्पादन गर्ने उनले सुनाए । नसरुलले पुरुषका लागि सर्ट, ट्राउजर, महिलाको कुर्तीलगायत पहिरन बनाउँछन् ।
