काठमाडौं । अमेरिकी सेनाले इरानमाथि फेरि नयाँ हवाई आक्रमण गरेको छ। रणनीतिक महत्व बोकेको बन्दर अब्बास सहरस्थित एक सैन्य क्षेत्रलाई लक्षित गर्दै आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ।
सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलमार्ग आसपास खतरा सिर्जना गरिरहेका इरानका चार आत्मघाती ड्रोन खसालिएका छन्। पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेका बेला बन्दर अब्बासस्थित सैन्य साइटमा आक्रमण गरिएको दाबी गरिएको छ।
इरानी सञ्चारमाध्यमले बन्दर अब्बासको पूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन्। अमेरिका र इरानबीच कमजोर युद्धविराम कायम रहँदा तथा तीन महिनादेखिको संघर्ष अन्त्यका लागि वार्ता चलिरहेका बेला यो आक्रमण भएको हो।
युद्धका कारण होर्मुज जलमार्ग प्रभावित बनेको छ भने विश्व बजारमा ऊर्जा तथा इन्धनको मूल्य बढिरहेको छ। अमेरिकाले इरानभित्र आक्रमण गरेको तीन दिनभित्र यो दोस्रो घटना हो।
वासिङ्टनले आत्मरक्षाका लागि कारबाही गरिएको जनाएको छ। तर, विश्लेषकहरूले यस घटनाले युद्धविरामलाई थप जोखिममा पार्न सक्ने बताएका छन्।
सेन्ट्रल कमान्डले आफ्नो कदम सन्तुलित, पूर्ण रूपमा रक्षात्मक तथा युद्धविराम कायम राख्ने उद्देश्यले गरिएको दाबी गरेको छ।
यसअघि सोमबार पनि इरानी मिसाइल साइट र जलमार्गमा माइन बिछ्याउने प्रयास गरिरहेका डुंगामाथि अमेरिकी आक्रमण भएको थियो।
इरानले भने अमेरिकी कदमको कडा आलोचना गर्दै यसलाई युद्धविरामको गम्भीर उल्लंघन भनेको छ। साथै, कुनै पनि शत्रुतापूर्ण गतिविधिलाई जवाफविहीन नछाड्ने चेतावनी दिएको छ।
