विराटनगर । विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को अवरोधका कारण कोशी प्रदेश सभाको बुधबारको बैठक सञ्चालन हुन सकेन ।
सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा असहमति जनाउँदै नेकपाले सभामुख अम्बरबहादुर विष्टले गरेको ‘सर्वसम्मत पारित’ घोषणालाई सच्याउन माग गरेको छ ।
मंगलबारको बैठकमा विपक्षीलाई संशोधन प्रस्ताव दर्ता गर्न पर्याप्त समय नदिई सभामुख विष्टले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका थिए । सोही विषयलाई लिएर बुधबार बसेको बैठकमा नेकपाका सांसदहरूले विरोध जनाएका हुन् ।
विरोधका क्रममा पूर्वमुख्यमन्त्री तथा नेकपाका सांसद राजेन्द्र राईले रोस्ट्रममा पुगेर आफ्नो धारणा राख्न खोजेका थिए । त्यसक्रममा उनले माइक तान्ने प्रयास गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
पछि सभामुख विष्टको पहलमा विपक्षी दलका नेता इन्द्रबहादुर आङ्बो र सत्ता पक्षका नेताहरूबीच छलफल भए पनि सहमति जुट्न सकेन । त्यसपछि प्रदेशसभा बैठक जेठ १६ गते शनिबारसम्मका लागि स्थगित गरिएको छ ।
नेकपा संसदीय दलका नेता आङ्बोले गतिरोध अन्त्यका लागि सभामुख गम्भीर नदेखिएको आरोप लगाए । उनका अनुसार सत्ता पक्षले विपक्षीलाई सम्बोधन गरेर अघि बढ्ने सुझाव दिए पनि सभामुखले त्यसतर्फ चासो नदिएको बताए ।
सांसद राजेन्द्र राईले आफू रोस्ट्रममा बोल्नका लागि गएको स्पष्ट पार्दै विपक्षीको विरोधका बाबजुद सभामुखले प्रक्रिया अघि बढाएकोमा आपत्ति जनाए । उनले नीति तथा कार्यक्रम ‘सर्वसम्मत’ नभई ‘बहुमत’बाट पारित भएको घोषणा गर्नुपर्ने माग गरे ।
नेकपाको मुख्य आपत्ति नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामै केन्द्रित छ । विपक्षीले विरोध जनाइरहेको अवस्थामा पनि सभामुखले सर्वसम्मत भएको घोषणा गर्नु तथ्यविपरीत रहेको नेकपाको भनाइ छ ।
