काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यसहित नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको जनाएको छ।
यसै क्रममा निजामती कर्मचारीहरूको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ। सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार हाल प्रणाली परीक्षणको चरणमा रहेको छ र आगामी एक साताभित्र पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ।
उक्त पहल मन्त्रिपरिषद्बाट चैत १३ गते स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत बुँदा नम्बर ३५ मा समेटिएको थियो। सो कार्यसूची कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमा सहितको कार्ययोजना तयार गरी सम्बन्धित निकायहरूलाई तोकिएको अवधिभित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले नागरिक एपमार्फत थप सेवाहरू एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता दिन मातहतका निकायहरूलाई निर्देशन दिएका छन्।
मन्त्रीस्तरीय निर्देशनपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी तथा प्राविधिक निकायसँग समन्वय अघि बढाएको छ। यसैक्रममा नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी व्यावसायिक इन्जिनियरहरूको प्रमाणपत्र समेत नागरिक एपमार्फत उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ।
नयाँ प्रणाली कार्यान्वयनमा आएपछि नागरिकहरूले नागरिक एपमार्फत प्रवेशपत्र, एनओसी तथा निजामती कर्मचारीहरूको व्यक्तिगत विवरणजस्ता महत्त्वपूर्ण सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) सेवा सञ्चालनमा आइसकेको छ। अब थप सेवाहरू समावेश भएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
