काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदबाट हटाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा साहलाई मन्त्री पदबाट पदमुक्त गर्ने निर्णय गरिएको हो।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा पुनः सक्रिय गराएको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले घटनाबारे अध्ययन गरी साहमाथि कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टी नेतृत्वसमक्ष बुझाएको थियो। उक्त प्रतिवेदनमा मन्त्री साहको गतिविधिले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर असर पर्ने निष्कर्ष निकालिएको जनाइएको छ। सोही आधारमा सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष औपचारिक सिफारिस पेश गरेका थिए।
प्रधानमन्त्री शाहले सोही सिफारिसका आधारमा साहलाई पदमुक्त गर्ने निर्णय लिएको जानकारी प्रेस विज्ञ दीपा दाहालले दिएकी छन्।
रास्वपाले आफ्नो पार्टी विधानअनुसार सभापतिलाई पार्टीको सिद्धान्त र मर्यादा जोगाउने जिम्मेवारी रहेको उल्लेख गर्दै पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउने (राइट टु रिकल) व्यवस्था रहेको पनि स्पष्ट पारेको छ।
यसैबीच, घटनाप्रति अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। सोही आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसकेको सचिवालयले जनाएको छ।
