Premier Cables
Premier Steel

राष्ट्रिय

‘ड्राईभिङ लाइसेन्स’ छपाइको गति बढाइयो, ९४ हजार थान वितरण गर्न पठाइयो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र २४, २०८२  | बिहान १०:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले अत्यावश्यक बाहेकका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत ठूलो परिमाणमा छपाई गर्न थालेको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वमा नयाँ सरकार गठन भएसँगै केन्द्रले एकमुस्ट (बल्क) रूपमा लाइसेन्स छाप्ने काम अघि बढाएको हो।

यातायात व्यवस्था विभागबाट प्राप्त विवरणअनुसार छपाई सुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार हालसम्म करिब तीन लाख लाइसेन्सको डेटा प्राप्त भइसकेको छ, जसमध्ये केही दिनअघि ९४ हजार लाइसेन्स छापेर पठाइसकिएको छ भने मंगलबार थप ६८ हजार लाइसेन्स पठाउने तयारी गरिएको छ।

बिज्ञापन

गत कात्तिक १२ गते केन्द्र र विभागबीच ६ महिनाभित्र १२ लाख लाइसेन्स उपलब्ध गराउने सम्झौता भए पनि पाँच महिनासम्म अत्यावश्यक बाहेकका लाइसेन्स छपाई अघि बढ्न सकेको थिएन। विभागले ‘ब्याकलग’ लाइसेन्सको डेटा उपलब्ध गराउने प्रणाली तयार नभएको कारण ढिलाइ भएको थियो। अहिले भने डेटा पठाउन सुरु भएसँगै छपाई तीव्र बनेको छ।

ढुङ्गानाका अनुसार सुरुवाती चरणमा कच्चा पदार्थ अभावका कारण दैनिक ५०० वटामात्र अत्यावश्यक लाइसेन्स छापिँदै आएको थियो। अहिले आवश्यक सामग्री उपलब्ध भइसकेको र सम्झौताअनुसार ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए।

यसैबीच, विभागमा अझै करिब १७ लाख लाइसेन्स छपाई हुन बाँकी रहेको जनाइएको छ। बाँकी लाइसेन्स छाप्न पनि थप सम्झौताको तयारी भइरहेको छ, जसअनुसार असार मसान्तसम्म सबै लाइसेन्स छाप्ने लक्ष्य राखिएको छ।

यातायात व्यवस्था विभागका निर्देशक केशवराज खतिवडाका अनुसार विभिन्न यातायात कार्यालयबाट संकलित डेटा क्रमशः केन्द्रलाई उपलब्ध गराइँदैछ। छापिएका लाइसेन्स विभागका कार्यालयमार्फत वितरण गरिनुका साथै अन्य जिल्लामा हुलाकमार्फत पठाउने काम पनि सुरु भइसकेको छ। काभ्रे पूर्वका केही जिल्लामा हुलाकमार्फत लाइसेन्स पठाइसकिएको उनले बताए।

बाँकी लाइसेन्स छपाईका लागि आवश्यक बजेट व्यवस्थापन प्रक्रिया अघि बढाइएको र चाँडै सुरक्षण मुद्रण केन्द्रसँग थप सम्झौता गरिने विभागले जनाएको छ। सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म सबै लाइसेन्स छपाई सम्पन्न गर्ने लक्ष्य लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka