विराटनगर । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जलेका विराटनगर महानगरपालिकाका ९ वटा सवारी साधनमध्ये ७ वटा पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। ती सवारी साधन अब महानगरले कवाडीका रूपमा बिक्री गर्ने तयारी गरेको छ।
भदौ २४ गते भएको आन्दोलनमा महानगरभित्र रहेका संरचनासँगै महानगरपूर्व शनिबाट नजिकको खाली मैदानमा राखिएका दैनिक प्रयोगमा रहेका सवारी साधनमा समेत आगजनी गरिएको थियो। नगर प्रहरीले प्रयोग गर्ने गाडीदेखि सडकमा पानी छर्कन प्रयोग गरिने ट्यांकी, साथै शव बोक्न प्रयोग गरिने शववाहनसम्म जलेर फलाम मात्र बाँकी रहने गरी नष्ट भएका छन्।
आन्दोलनपछि प्राविधिक टोलीले गरेको परीक्षणअनुसार रोड रोलर र पानी बोक्ने ट्यांकी बाहेक अन्य सवारी साधन मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने निष्कर्ष निकालिएको छ। विराटनगर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार जलेका सवारी साधनको परीक्षणपछि २ वटा बाहेक अन्य सवारी साधन मर्मत गर्नुभन्दा नयाँ खरिद गर्नु सस्तो पर्ने देखिएको छ। त्यसैले ती सवारी साधन कवाडीका रूपमा बिक्री गर्नु बाहेक अन्य विकल्प नरहेको उनले बताए।
उनका अनुसार सवारी साधनको अभावले दैनिक कार्यसम्पादनमा गम्भीर समस्या उत्पन्न भएको छ। सीमित स्रोतसाधनका कारण नयाँ सवारी साधन खरिद गर्न समेत ढिलाइ भइरहेको छ, जसले सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको छ।
सवारी साधनसँगै महानगरको भवन र अन्य संरचना समेत जलेपछि अहिले सेवा प्रवाहमा ठूलो समस्या देखिएको छ। विभिन्न शाखाहरू सानो कोठा तथा अस्थायी टेन्टबाट सेवा दिन बाध्य भएका छन्।
यस घटनाले स्थानीय तहको सम्पत्ति मात्र नभई देशकै ढुकुटीमा ठूलो भार थपेको छ। नष्ट भएका सवारी साधन पुनः खरिद गर्न अब सरकारी कोषबाटै रकम व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। करोडौँ मूल्यका सवारी साधन कौडीको मूल्यमा कवाडीलाई बिक्री गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतर्फ जनताले तिरेको करबाट पुनः त्यस्ता सवारी साधन खरिद गर्नुपर्ने विडम्बनापूर्ण अवस्था देखिएको छ।
जेन्जी आन्दोलनका कारण विराटनगर महानगरपालिका मात्र होइन, अन्य सरकारी संरचनामा समेत व्यापक क्षति पुगेको छ। जसका कारण हालसम्म सेवा प्रवाह पूर्ण रूपमा सहज हुन सकेको छैन।
