काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले आफूले लिएको निर्णय निराशा, हताशा वा हतारमा नभई धेरै सोचविचारपछि लिएको बताएका छन्।
मिश्रले देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत रहे पनि त्यसलाई संगठित र प्रभावकारी रूपमा अघि बढाउन राप्रपा विभिन्न कारणले पटक–पटक असफल भएको उल्लेख गरेका छन्। उक्त असफलताका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले आफू पनि जिम्मेवार रहेको उनको भनाइ छ।
उनले विचारभन्दा माथि देश हुने उल्लेख गर्दै बदलिँदो भूराजनीतिक परिस्थिति र आन्तरिक चुनौतीका बीच देशलाई जोगाउन तथा भावी पुस्ताका लागि बलियो आधार निर्माण गर्न नवीन समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताए।
यसै सन्दर्भमा उनले दुई महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। पहिलो, आजकै मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको र दोस्रो, राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका मुद्दामा आफ्नो अडान यथावत रहने र अब तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार प्रस्तुत गर्दै अघि बढ्ने।
मिश्रले विगत ९ वर्षको राजनीतिक यात्रामा इमानदारीपूर्वक राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै देशभन्दा माथि कुनै स्वार्थ नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस क्रममा साथ र सहयोग गर्ने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति उनले आभार व्यक्त गरेका छन्। साथै, हालैको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनले बधाई तथा शुभकामना दिएका छन्।
नेपाली राजनीति सही दिशामा अघि बढोस् भन्ने कामना गर्दै मिश्रले अन्त्यमा ‘नेपालको जय होस्’ भन्दै आफ्नो सन्देश टुंग्याएका छन्।
