काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपाले नीति तथा कार्यक्रममाथिको छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गहिरो आस्था व्यक्त गरेको उल्लेख गर्दै त्यसप्रति असहमति जनाएका हुन् ।
मिश्रले केही वर्षका लागि केही नेता असल हुँदैमा नेपालको दीर्घकालीन शान्ति, स्थिरता, एकता र अस्तित्व सुनिश्चित नहुने बताएका छन् । उनले नेपालको संवेदनशील भूराजनीतिक अवस्था, जातीय तथा क्षेत्रीय विविधता र भविष्यका सम्भावित संकटलाई ध्यानमा राखेर दीर्घकालीन राष्ट्रिय हितका विषयमा सोच्नुपर्ने बताएका छन् ।
उनले वर्तमान राजनीतिक नेतृत्व र राष्ट्रपतिको संस्थामाथि मात्र निर्भर भएर राष्ट्रिय एकताको प्रतीक आवश्यक नपर्ने निष्कर्षमा पुग्न नहुने धारणा व्यक्त गरेका छन् ।
मिश्रले देशको दीर्घकालीन हित, स्थिरता र भावी पुस्ताको भविष्यभन्दा संघीय लोकतान्त्रिक गणतन्त्रलाई माथि राखिएको जस्तो देखिएको टिप्पणी गर्दै राजनीतिक दलहरूलाई दीर्घकालीन राष्ट्रिय स्वार्थबारे गम्भीर बन्न आग्रह गरेका छन् ।
