Premier Cables
Premier Steel

कोशी प्रदेश

स्वकीय सचिव हटाएपछि रिसाए प्रदेश सभा सदस्य, पुनः व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ २८, २०८२  | साँझ ४:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले विभिन्न समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, प्रदेश सभा सदस्यलाई स्वकीय सचिव राख्ने व्यवस्था पुनः लागू गर्न माग गरिएको छ।

एमालेकी प्रदेश सभा सदस्य मिना श्रेष्ठले मोरङ र सुनसरीका प्रमुख सडकमा बढ्दो सवारी दुर्घटनाप्रति सरकार संवेदनशील बन्नुपर्ने बताइन्।

बिज्ञापन

धरानमा हालै भएको विद्यालय बस दुर्घटनामा स्कुले बालबालिकाको ज्यान गएको घटनालाई स्मरण गर्दै उनले अन्य जिल्लामा समेत दुर्घटना बढ्दो क्रममा रहेको उल्लेख गरिन्। दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सचेतना र सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ थियो।

श्रेष्ठले भोजपुरको चखेवा भञ्ज्याङदेखि खोटाङको सेखुवासम्म पर्ने राष्ट्रिय गौरव आयोजना मदन भण्डारी मार्गअन्तर्गत करिब १० किलोमिटर सडकखण्ड लामो समयदेखि निर्माण हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्नु परेको पनि बताइन्। ठेक्का लागेर पनि काम अघि नबढेपछि ठेक्का तोडिएको र त्यसपछि निर्माण प्रक्रिया अघि नबढेको उनको गुनासो थियो।

एमालेका किशोरचन्द्र दुलालले कोसी प्रदेशमा बेरोजगारी र युवा पलायन गम्भीर समस्या बनेको उल्लेख गर्दै शिक्षालाई सीप र रोजगारीसँग जोड्ने नीति आवश्यक रहेको बताए।

त्यस्तै, एमालेकै रमेश कुमार बस्नेतले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई स्वस्थ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताए। उनले संघीय मन्त्रीहरू निर्वाचन अनुगमनमा खटिनु शंकास्पद रहेको टिप्पणी गर्दै यस्तो अनुगमन खारेज गरिनुपर्ने माग गरे।

साथै, प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका रुग्ण आयोजनाहरू कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

प्रदेश सभा सदस्य सुनीता गच्छदारले सदनमा उठाइएका विषयहरूको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै मन्त्रीहरूले स्वकीय सचिव राख्न पाउने तर सांसदहरूले नपाउने व्यवस्था किन रहेको भन्दै प्रश्न उठाइन्। उनले प्रदेश सभा सदस्यलाई पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाउन माग गरिन्।

संघीय सरकारले स्वकीय सचिवले पाउने सेवा-सुविधा कटौती गरेपछि प्रदेश सभाले तलब रोकेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka