सुर्खेत । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कर्णाली प्रदेशका तीन जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। देउवा पक्षका नेता दमन शाहीका अनुसार मुगु, जुम्ला र हुम्लामा जिल्ला अधिवेशन सम्पन्न भएको हो।
कालिकोटमा मंगलबार जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ भने अन्य जिल्लामा वडा, पालिका तथा क्षेत्रीय अधिवेशनका काम भइरहेका छन्। कात्तिक १५ गतेसम्म निर्धारित कार्यतालिकाभित्रै सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको शाहीले बताएका छन्।
मुगु जिल्ला सभापतिमा देउवा पक्षका तिलक मल्ल निर्वाचित भएका छन्। उनी यसअघि पनि देउवा निकट नेताका रूपमा चिनिन्थे।
मुगुमा पूर्वमन्त्री ऐनबहादुर शाहीले देउवा पक्षको नेतृत्व गरिरहेका छन्। कर्णालीमा देउवा पक्षका अधिकांश नेता गगन थापा समूहमा लागिसके पनि ऐनबहादुर भने देउवाकै पक्षमा रहेका छन्।
मुगुमा उपसभापतिमा रमेशकुमार मल्ल र रामबहादुर रावत, सचिवमा कुबेरजङ शाही र हरि रावल, कोषाध्यक्षमा धर्मेन्द्र शाही तथा सहसचिवमा जङ्गबहादुर ऐडी र शैलेन्द्र मल्ल निर्वाचित भएका छन्।
जुम्लाको जिल्ला सभापतिमा नेत्रकला शाही निर्वाचित भएकी छन्। जुम्लाका देउवा पक्षीय नेताहरू कान्तिका सेजुवाल र ललितजङ्ग शाही लगायतका नेता गगन थापा समूहमा लागे पनि नेत्रकला भने देउवा समूहमा रहेर जिल्ला सभापति बनेकी हुन्।
हुम्ला जिल्ला सभापतिमा सूर्यबहादुर शाही निर्वाचित भएका छन्। उनी यसअघि जिल्ला कोषाध्यक्ष थिए।
हुम्ला पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हो। देउवा पक्षमा रहेका जीवनबहादुर पछिल्लो समय गगन थापा समूहमा खुलेका छन्। तर उनी निकट मानिने सूर्यबहादुर भने देउवा पक्षबाटै जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
देउवा पक्षका नेता दमनबहादुर शाहीका अनुसार दैलेखमा पनि क्षेत्रीय अधिवेशनका गतिविधि भइरहेका छन्। यसअघि पूर्णबहादुर खड्काको गृह प्रदेश भएकाले कर्णालीमा देउवा पक्ष बलियो मानिन्थ्यो। तर पछिल्लो समय खड्का स्पष्ट रूपमा कुनै समूहमा नखुले पनि उनी निकट मानिने धेरै नेता तथा कार्यकर्ता गगन थापा समूहमा आबद्ध भएर महाधिवेशन प्रक्रियामा सहभागी भएका छन्।
यसैबीच, यसअघि शेखर कोइराला पक्षमा रहेका कालिकोटका भूपेन्द्रजङ शाही अहिले देउवा पक्षमा खुलेका छन्। दैलेखका नारायण रेग्मी पनि देउवा पक्षमा लागेका छन्। रेग्मी यसअघि संस्थापन पक्षको क्षेत्रीय महाधिवेशनमा सहभागी भए पनि त्यहाँ विवाद भएपछि देउवा पक्षमा गएको बताइएको छ।
कर्णालीका जिल्लामा भइरहेका अधिवेशन र नेताहरूको समूह परिवर्तनले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएको संकेत गरेको छ।
