काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रालाई नयाँ शिराबाट अघि बढाउने घोषणा गरेका छन्। मतपरिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले अब फरक सोच, शैली र संस्कारसहित राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
घिमिरेले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै निर्वाचनको परिणामबाट विचलित नहुने बताएका छन्।
“लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो। म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले आगामी राजनीतिक यात्रामा निष्ठा, विचार, संवाद र इमानदारीलाई प्राथमिकता दिने बताएका छन्। साथै, पार्टी रूपान्तरणलाई मुख्य आधार बनाएर फरक राजनीतिक संस्कार विकास गर्ने उनको भनाइ छ।
निवर्तमान महामन्त्रीसमेत रहेका घिमिरेले आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूले दिएको मतलाई संख्याका रूपमा मात्रै नलिएको उल्लेख गरेका छन्। उनका अनुसार प्राप्त मत विश्वास, भरोसा र आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण प्रेरणा हो।
“यहाँहरूले प्रदान गर्नुभएको एक हजार ५१३ मत मेरा लागि संख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा हो,” घिमिरेले लेखेका छन्।
महामन्त्री पदमा पराजित भए पनि घिमिरेले आफ्नो राजनीतिक सक्रियतालाई निरन्तरता दिने संकेत गरेका छन्। उनले आगामी दिनमा पार्टीभित्र विचार, निष्ठा र रूपान्तरणलाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन्।
