Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको फोहोर व्यवस्थापनमा जुट्यो सहमति

Calendar बिहिबार, पुष १०, २०८२  | साँझ ७:५६ बजे

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा १ पुसदेखि देखिएको फोहर व्यवस्थापनको समस्या तत्कालका लागि समाधान भएको छ ।

ल्यान्डफिल साइट स्थानान्तरणको विषयमा छिमेकी सुनसरीको बर्जु गाउँपालिकाका बासिन्दा र विराटनगर महानगरपालिकाबीच उत्पन्न विवाद बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सहमतिपछि टुंगिएको हो ।

बिज्ञापन

महानगरपालिकाले करिब एक दशकदेखि विराटनगर–६ स्थित ब्रह्मपुरामा फोहर विसर्जन गर्दै आएको थियो । त्यहाँ विवाद उत्पन्न भएपछि महानगरले १ पुसदेखि वडा नम्बर १६ को दरैयामा रहेको आफ्नै स्वामित्वको जग्गामा फोहर व्यवस्थापन सुरु गरेको थियो । तर दरैयामा फोहर फाल्दा निस्कने दुर्गन्ध र केसलिया खोलामा प्रदूषण मिसिन सक्ने आशंकाले बर्जु गाउँपालिका–२ का बासिन्दाले अवरोध गरेका थिए ।

स्थानीयको अवरोधका कारण पाँच दिनसम्म विराटनगर बजार क्षेत्रको फोहर संकलन हुन सकेको थिएन । बिहीबार फोहर बोकेका सवारीसाधन रोकेर आन्दोलनसमेत गरिएको थियो । दरैया आसपास मानव बस्ती नभए पनि हावाका कारण दुर्गन्ध फैलिने र नदी प्रदूषित हुने भन्दै छिमेकी गाउँपालिकाका बासिन्दाले स्वास्थ्यमा असर पर्ने गुनासो गरेका थिए ।

अवरोधपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलबाट दुर्गन्ध नियन्त्रण र नदी प्रदूषण रोक्ने विषयमा सात बुँदे सहमति भएको छ । सहमतिअनुसार फोहर विसर्जन गर्दा दुर्गन्ध नियन्त्रणका लागि दैनिक केमिकल प्रयोग गर्ने, दुर्गन्ध फैलिने फोहर माटोले पुरिने, विसर्जन केन्द्रसम्म जाने सडक स्तरोन्नति गरी अग्लो बनाउने, फोहर ढुवानी गर्ने गाडी अनिवार्य रूपमा त्रिपालले छोप्ने तथा वर्षायाममा केसलिया खोलाको पानी केन्द्रमा पस्न नदिन खोला किनारमा पर्खाल निर्माण गर्ने व्यवस्था गरिएको छ ।

सहमतिको कार्यान्वयन र फोहर व्यवस्थापनको नियमित अनुगमनका लागि विराटनगर–१६ का वडाध्यक्ष उद्धवकुमार भुजेलको संयोजकत्वमा बर्जु गाउँपालिका वडा नम्बर २ र ३ का अध्यक्ष तथा स्थानीय प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिएको छ । साथै एसियाली विकास बैंकको सहयोगमा व्यवस्थित फोहरमैला विसर्जन केन्द्र निर्माणका लागि पहल गर्ने सहमति पनि भएको छ ।

स्थानीयले सहमतिअनुसार तत्काल काम सुरु नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विराटनगर महानगरपालिकाबाट दैनिक औसत १०५ मेट्रिक टन फोहर संकलन हुने गर्दछ । फोहर व्यवस्थापनका लागि महानगरले नेपाल फूलबारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा सगरमाथा मल्टी सर्भिसेजलाई ठेक्का दिएको छ ।

स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका व्यवस्थापक एकराज खनालका अनुसार सहमतिपछि बिहीबारदेखि पुनः फोहर व्यवस्थापन सुरु गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka