






नेपालको राजधानी काठमाडौंसहित देशका प्रमुख सहर फेरि एकपटक आन्दोलित हुँदैछ-तर यो आन्दोलन विगतका जस्तै छैन।
नेतृत्वविहीन, स्वतःस्फूर्त, र डिजिटल संसारमै हुर्किएको पुस्ताले सुरू गरेको यो अभियानले राजनीतिक प्रणालीमाथि गहिरो प्रश्न उठाएको छ।
‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्ने नारासहित सामाजिक सञ्जाल बन्दको प्रतिक्रियामा सुरू भएको यो आन्दोलनले ८ सेप्टेम्बरमा माइतीघर मण्डलादेखि संसद् भवनसम्म जनसागरको अपेक्षा गरेको छ।
नेतृत्व को हो भन्ने अझै स्पष्ट छैन। कुनै राजनीतिक पार्टी वा संगठनको झण्डा छैन। तर भावना स्पष्ट छ-‘इनफ इज इनफ’, अब चुप लागेर बस्ने छैनौं।
यस आन्दोलनको मूल ऊर्जा नयाँ पुस्ता-जेनरेशन जेड (Gen Z) बाट आएको हो। टिकटक, इन्स्टाग्राम, फेसबुक जस्ता माध्यमबाट हुर्केको यो पुस्ता अब सडकमा उत्रिन तयार देखिन्छ। ‘नेपो बेबी’ ट्रेण्डबाट सुरु भएको असन्तुष्टिको आवाज अब सिधै सत्तासम्म पुगेको छ—विना अनुमति, विना नेतृत्व, विना राजनीतिक आश्रय।
नेपाली राजनीतिले यति स्वतःस्फूर्त विद्रोहसँग पहिले कहिल्यै साक्षात्कार गरेको थिएन। राजनीतिक दलहरूको विश्वास गुमाइसकेको अहिलेको सन्दर्भमा युवाले उठाएको यस्तो अभियानले एउटै कुरा संकेत गर्छ—राजनीतिको पुरानो ढाँचा अब जेनजीलाई मान्य छैन।
यसपटक सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले आगोमा घिउ थपिदियो। अभिव्यक्ति स्वतन्त्रताको गफ दिने सत्ताले सञ्जालमै ताला लगाउने निर्णय गरेपछि, जेनजीको प्रतिक्रियाले तिनको राजनीतिक चेतनास्तर उच्च रहेको देखायो।
तर,प्रश्नहरु धेरै छन्
• नेतृत्वविहीन आन्दोलनले दीर्घकालीन प्रभाव पार्न सक्छ?
• आन्दोलनको एजेन्डा स्पष्ट छ, तर रणनीति कति स्पष्ट छ?
• यदि यो आन्दोलन राजनीतिक दल वा अन्य समूहद्वारा ‘हाइज्याक’ भयो भने यसको मूल्य कसले तिर्छ?
टिकटक प्रयोगकर्ता मिरज ढुंगाना जस्ता युवाहरूले आन्दोलनमा नेतृत्व आवश्यक देखेका छन्—त्यसैले किनभने नेतृत्वविहीन आन्दोलन हाइजार्क हुन सक्ने जोखिम छ। तर अर्कोतर्फ, नेतृत्वविना स्वतन्त्र रूपमा उठेको आवाजले नै यथास्थितिविरुद्धको वास्तविक जनआक्रोश देखाउँछ।
स्टार्टअप उद्यमी, कलाकार, विद्यार्थी, र साधारण युवाले खुलेर समर्थन जनाइरहेका छन्। पठाओका सीईओ असिममान सिंह स्वयं आन्दोलनमा उत्रने घोषणा गर्नु, वा हजारौंले सामाजिक सञ्जालमा एकै पोस्ट सेयर गर्नुले यो अभियानको व्यापकता देखाउँछ।
यो अब सामाजिक सञ्जालको ‘ट्रेन्ड’ मात्रै होइन—यो राजनीतिक-सांस्कृतिक संकेत हो। एउटा पुस्ता, जसले अनलाइनमा आफ्नो आवाज बनाएको थियो, अब सडकमा आफ्नो उपस्थिति देखाउन लागिरहेको छ।
सरकार र राजनीतिक नेतृत्वले यो सन्देश बुझ्न जरुरी छ—अब पुरानै शैलीले, पुरानै वाचा र नाटकले, युवालाई छल्न सकिन्न। युवाले अब केवल डिजिटल होइन, भौतिक उपस्थितिले पनि उत्तर खोज्दै छन्।
यदि यो आन्दोलन सफल भयो भने, नेपालमा राजनीतिक चेतना, नेतृत्व प्रतिको भरोसा, र नागरिक जिम्मेवारीको नयाँ युग सुरू हुन सक्छ। यदि असफल भयो भने पनि, कम्तिमा यो स्पष्ट हुनेछ—युवापुस्ताले अब मौन रहने छैन।
अब प्रश्न एउटै छ-के सत्ताले सुन्नेछ?