विराटनगर । मोरङमा मतदाताको गोपनीयता भंग हुने गरी ‘कसलाई मतदान गर्नुहुन्छ ?’ भन्ने प्रश्न सोध्न निषेध गरिएको छ । स्थानीय निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले यस्तो अभ्यास तत्काल रोक्न निर्देशन दिएको हो ।
जारी गरिएको सूचनामा मतदाताको व्यक्तिगत निर्णय र गोपनीयताको अधिकार सुनिश्चित गर्न यो कदम चालिएको उल्लेख छ । पछिल्लो समय केही अनलाइन सञ्चारमाध्यम तथा फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमार्फत सर्वसाधारण र मतदातालाई कुन दल, उम्मेदवार वा चुनाव चिह्नमा मतदान गर्ने भन्ने प्रश्न प्रत्यक्ष रूपमा सोध्ने क्रम बढेपछि कार्यालयले कडाइ गरेको जनाएको छ ।
मोरङका आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत मतदाताको गोपनीयता उल्लंघन हुने गतिविधि भइरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ । सूचनाअनुसार निर्वाचन आचारसंहिता २०८२ को दफा ४(द) अनुसार यस्ता प्रश्न सोध्नु आचारसंहिता विपरीत हो ।
कार्यालयले सूचना जारी भइसकेपछि पनि यस्ता गतिविधि दोहोर्याएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयता कायम राख्न मतदानको गोपनीयता अनिवार्य हुने भन्दै प्रशासनले सबै सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुन आग्रह गरेको छ ।
पछिल्लो समय ‘स्ट्रीट पोल’ वा ‘मतदाता सर्वेक्षण’ का नाममा सर्वसाधारणसँग प्रत्यक्ष रूपमा मतदानसम्बन्धी प्रश्न सोध्ने अभ्यास बढ्दै गएपछि निर्वाचन प्रशासन सक्रिय भएको हो । प्रशासनका अनुसार यसले मतदातामाथि दबाब सिर्जना गर्न सक्ने र स्वतन्त्र मतदान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो ।
