






विराटनगर। आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विशेषगरी कोसी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
दिउँसोको मौसम स्थिति अनुसार, देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली देखिनेछ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
रातिको समयसम्म पनि कोसी र मधेस प्रदेशसँगै देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। तर, कोसी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।
मनसुनको अवस्था
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालमा सामान्य स्थानमा रहँदा पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर सरेको छ।
साथै, सिक्किम आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालको पूर्वी भूभागमा वर्षाको प्रभाव बढी पर्ने अनुमान गरिएको छ।
विभागले संभावित भारी वर्षाका कारण पहिरो, बाढी र डुबानजस्ता प्राकृतिक जोखिमप्रति सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी कोसी र कर्णाली प्रदेशका पहाडी तथा तराई क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।