विराटनगर । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।
हाल देशभर सामान्यतया बादल लागेको छ। वाग्मती र गण्डकी प्रदेशका केही स्थानसहित कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आइतबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। यस्तै, देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ।
लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।
मधेस प्रदेश, कर्णाली प्रदेशको पहाडी भूभाग तथा वाग्मती प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग तथा वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
