Premier Cables
Premier Steel

कोशी प्रदेश

पूर्वपश्चिम ‘एसियन हाईवे’ निर्माणमा ढिलासुस्ती : धुलो र हिलोले यात्रुलाई सास्ती

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १४, २०८२  | बिहान १०:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काँकडभिट्टा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक स्तरोन्नतिको कार्य लक्ष्यअनुसार अघि बढ्न सकेको छैन। निर्माणको हालको गति हेर्दा तीन वर्षभित्र काम सकिने सम्भावना न्यून देखिएको छ।

कूल १२० किलोमिटर दूरीमध्ये ९५.७६ किलोमिटर सडकमा स्तरोन्नति सुरु गरिएको हो। एसियाली विकास बैंकले ८४.९ प्रतिशत ऋण र नेपाल सरकारले १५.१ प्रतिशत लगानी गरेको यस परियोजनामा सहरी क्षेत्रका सडकहरू चार लेनका हुनेछन्। बीचमा तीन मिटर चौडा डिभाइडर रहने र दुवैतर्फ सर्भिस लेनसहित कुल चौडाइ ५० मिटर हुनेछ। अर्धसहरी क्षेत्रमा चार लेनसहित ३३ मिटर चौडा सडक बन्नेछ भने अन्य भागमा २४ मिटर चौडा सडक निर्माण गरिने योजना छ।

बिज्ञापन

काँकडभिट्टा–लौकही सडकखण्ड दुई भागमा विभाजित गरिएको छ। पूर्वी खण्ड काँकडभिट्टादेखि केर्खा–सीतापुरीसम्म ४५ किलोमिटर रहेको छ भने पश्चिमी खण्ड केर्खादेखि इटहरीसम्म ५०.७६ किलोमिटर लम्बाइको छ। हालसम्म पूर्वी खण्डमा २१.१० प्रतिशत र पश्चिमी खण्डमा २५ प्रतिशत मात्र भौतिक तथा वित्तीय प्रगति भएको छ, जबकि दुबै खण्डमा कम्तीमा ३० प्रतिशत प्रगति भइसकेको हुनुपर्ने थियो।

पूर्वी खण्डको निर्माण कार्य इभरस्कोन–कालिका जेभीले १० अर्ब ६ करोड रुपैयाँमा लिएको छ। सम्झौता २०८० कात्तिक २ गते भएको थियो भने काम सुरु भएको मिति २०७९ माघ १९ हो। हालसम्म १८ वटा साना पुलमध्ये १७ वटा निर्माणाधीन छन्। ६३ वटा कल्भर्ट निर्माण भइसकेको छ। दुई किलोमिटर ड्रेन, आठ किलोमिटर सब–बेस र १.७ किलोमिटर बेस निर्माण कार्य पूरा भएको इञ्जिनियर आश्रय महतले जानकारी दिएका छन्। सो खण्ड पूरै झापाभित्र पर्दछ।

सहरी क्षेत्रमा साइट क्लियरेन्स अन्तिम चरणमा पुगेको छ भने विद्युतीय पोल सार्ने कार्य पनि भइरहेको छ। तर माटो अभावका कारण कतिपय ठाउँमा काम रोकिएको छ। निन्दा, बिरिङ र कन्काई नदीमाथिको ३०० मिटरभन्दा लामो पुल निर्माण कार्य कोभेक क्रेग तुँदी जेभीले ५ अर्ब ९७ करोडमा पाएको छ। ती पुलहरूको हालसम्मको भौतिक प्रगति १९.३५ प्रतिशत मात्र रहेको छ।

पश्चिमी खण्ड तीन ठेक्कामा विभाजन गरिएको छ। प्याकेज नम्बर २ सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर लम्बाइको छ, जसको निर्माण जिम्मा क्रेग तुँदी जेभीले ९ अर्ब १३ करोड ८२ लाखमा लिएको छ। प्याकेज नम्बर ३ मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १०.७६ किलोमिटरको हो, जसमा कोभेक क्रेग तुँदी जेभीले ४ अर्ब ७ करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता गरेको छ। यी दुई प्याकेजको संयुक्त प्रगति औसतमा २५ प्रतिशत रहेको छ।

यो खण्डमा हालसम्म ३०० मिटरभन्दा साना २८ पुलमध्ये चार वटा पुल र ६५ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन्। नौ किलोमिटर साइट ड्रेन, १५ किलोमिटर सब बेस, चार किलोमिटर बेस र २.३ किलोमिटर कालोपत्र पनि सम्पन्न भइसकेको छ।

सहरी क्षेत्रको सडक अधिकारभित्र पर्ने घर र संरचना हटाउने कार्य भइरहेकाले काम प्रभावित भएको छ। त्यस्तै, विद्युत पोल सार्ने जिम्मा पाएको ठेकेदारले ढिलाइ गरेकाले साइट क्लियरेन्समा समस्या आएको इञ्जिनियर पल्लब श्रेष्ठले जानकारी दिएका छन्। हाल माटो तथा नदीजन्य निर्माण सामग्रीको अभाव निर्माण कार्यमा मुख्य बाधा बनेको छ। इञ्जिनियर श्रेष्ठका अनुसार स्थानीय र प्रदेश सरकारले आवश्यक सहजीकरण गरेमा बाँकी कामलाई छिटो सम्पन्न गर्न सकिने छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa