






धरान । श्रमदानको भुक्तानीको विषयमा उत्पन्न विवादबारे सुनसरीको धरानका मेयर हर्क साम्पाङले स्पष्टोक्ति दिएका छन् । उनले श्रमदान गरेर विकास अघि बढाइँदा कुनै किसिमको कैफियत नगरिएको दाबी गरेका छन् ।
फेसबुकमा श्रमदानबारेको विवरण सार्वजनिक गर्दै उनले अनावश्यक बखेडा झिकेर गिलोलिएको आरोप लगाएका छन् ।बुधबार एक स्टाटस लेख्दै साम्पाङले फाइल खोसेर उपमेयरले प्रमुख प्रशासकीय अधिकृतको बाट लगेको भन्ने बुझेको जनाएका छन् । उनले लेखेका छन्,“तर श्रमदाताले पैसा लियो भनेर भ्रामक प्रचार उपमेयरले गरेको कि उपमेयरको आफ्नो मान्छेहरुले त्यो थाहा भएन । कैफियतमा रकम नलिएको श्रमदान मात्र लेखिएको प्रकोष्टलाई हटाएर हिजो भ्रम फैलाइए छ । एकै घण्टामा भ्रम हटेको छ । भो भ्रमको खेती छर्ने हर्कत गर्नेलाई जनताले थुकुन ।”
मेयर साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघाबीचको विवादका कारण दुई दिनदेखि धरान उपमहानगरपालिका अशान्त छ । दुबै पक्षका समर्थकले नारावाजी र प्रदर्शन गरिरहेका छन् । मंगलबार मेयर र उपमेयरबीच उपमहानगर परिसरमै हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
के हो धरानको विवाद ?
श्रमदानका नाममा गरिएको कामको हाजिरी उठाएर रकम मागिएको भन्दै बेचाले रोक लगाए । यही विषयलाई लिएर धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको हो ।
सोमबार उपमेयर बेघामाथि हातपात गर्न खोजिएको घटनाको भोलिपल्ट, मंगलवार बिहान करिब ११ बजे मेयर साम्पाङका श्रमदाताको समूह पुनः उपमेयर बेघाको कार्यकक्षमा पुगेर घेराउ गरे। उनीहरूले चाबी माग्ने बहानामा कार्यकक्षमा विवाद बढाउँदा बेघा पक्षका नेकपा माओवादी कार्यकर्ताहरू समेत परिसरमा पुगेपछि दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो।
नेकपा माओवादी धरान नगर कमिटी अध्यक्ष उद्धव लिम्बुका अनुसार मेयर समर्थकहरू डोजर र स्काभेटरको चाबी माग्ने निहुँमा उपमेयरको कार्यकक्ष घेराउ गर्न गएका थिए। “प्रमुखले नै उनीहरूलाई उक्साएर पठाएको देखिन्छ,” उनले आरोप लगाए, “तर उपमेयरले बुझाइदिएपछि परिस्थिति केही समय शान्त भयो।”
उपमेयर बेघाका अनुसार डोजर र स्काभेटरको चाबी मेयर, उपमेयर र कार्यालय स्टोरमा एक/एक प्रति राखिएको छ। मेयर पक्षबाट जथाभावी प्रयोग भइरहेको देखेर चाबी वितरणमा रोक लगाएको उनको भनाइ छ।
“आज अचानक उनीहरू चाबी माग्दै कार्यकक्षमा आए। मैले भनेँ— चाबी त मेयरसाबसँग पनि छ, म उहाँसँग मागेर दिन्छु। यसरी सम्झाएर शान्त बनाउने प्रयास गरें,” उपमेयर बेघाले बताए।
तर, सो घेराउको खबर फैलिएपछि माओवादी कार्यकर्ताहरू पनि नगरपालिकामा जम्मा भए, जसले दुई पक्षबीच नाराबाजी र ठूला भिडन्तको अवस्था सिर्जना गरायो। स्थिति यति तनावग्रस्त भयो कि प्रशासनले तत्काल सुरक्षा सतर्कता बढाउनु परेको थियो। धरानमा श्रमदान गरेर विकासका काम गरिरहेका मेयर साम्पाङकाे कामकाे पारदर्शिताकाे विषयमा भने विभिन्न प्रश्न उठाइने गरेकाे छ ।