जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सदनमै राजीनामाको घोषणा गरेका हुन्।
बहुमत जुट्ने सम्भावना नरहेपछि उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएको उल्लेख गर्दै राजीनामा दिएको बताए।
गत असोज ३० मा नेकपा (एमाले) र कात्तिक २० मा नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संवैधानिक बाध्यताका कारण अल्पमतमा परेका थिए।
१०२ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५२ सांसद आवश्यक पर्नेमा एमाले, नेकपा र जसपा नेपालबीच नयाँ समीकरण बनेको छ। जसपाभित्रको आन्तरिक कलह र जनमत पार्टीको तटस्थताका कारण नयाँ सरकार गठनमा केही अन्योल देखिए पनि अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछन्।
