विराटनगर । तराई–मधेसको मौलिक संस्कृतिका रूपमा सुरु भएर राष्ट्रिय पर्वको पहिचान बनाएको छठ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गर्दैछन्।
छठ पर्वका लागि विराटनगरका सिंघिया र केसलिया नदी, सुनसरी–मोरङ सिँचाइ आयोजनाका नहर तथा विभिन्न पोखरीमा छठ घाट निर्माण गरी सजाइएको छ। विराटनगरसहित काठमाडौं उपत्यका र देशका विभिन्न स्थानका जलाशय तथा नदी किनारमा पनि विशेष सजावट गरिएको छ।
चार दिनसम्म मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो। पहिलो दिन नुहाएर चोखो भोजन गर्ने, दोस्रो दिन खरना विधि पूरा गरी प्रसाद ग्रहण गर्ने परम्परा छ। तेस्रो दिन अर्थात् आज व्रतालुहरू दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ।
धार्मिक मान्यताअनुसार छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरे परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको कल्याण हुने विश्वास गरिन्छ। यस पर्वमा बाँसका सामग्रीमा ठकुवा, भुसुवा, फलफूललगायत प्रसाद राखेर सूर्यलाई अर्पण गर्ने चलन छ।
छठ पर्वको सुरुआतबारे विभिन्न धार्मिक ग्रन्थमा उल्लेख पाइन्छ। महाभारतको कथाअनुसार पाण्डवहरू अज्ञातवासमा विराट राजाको दरबारमा रहँदा द्रौपदीसहित सूर्यदेवको आराधना गरेका थिए। त्यही समयदेखि छठ मनाउने परम्परा सुरु भएको जनविश्वास छ।
त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको प्रसंग उल्लेख छ। भगवान् श्रीकृष्णका पुत्र साम्बले सूर्यको आराधना गरी कुष्ठरोगबाट मुक्ति पाएको धार्मिक कथन पनि छ।
तराईका सीमित क्षेत्रमा मनाइने छठले २०४६ सालपछि राष्ट्रिय पर्वको स्वरूप लिएको हो। सरकारले २०४६ सालदेखि नै यस पर्वमा सार्वजनिक बिदा दिन थालेको थियो। बीचमा केही वर्ष बिदा कटौती भए पनि पुनः सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।
धार्मिक आस्थासँगै प्रकृति र सूर्यशक्तिप्रतिको सम्मान झल्काउने छठ पर्वले सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक सहिष्णुताको सन्देशसमेत दिने गरेको छ।
