फायल फोटो
विराटनगर । मिथिला क्षेत्रमा आज चैती छठ पर्वको मुख्य दिन मनाइँदै छ।
महोत्तरीसहित सम्पूर्ण मिथिलाभर मंगलबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै यो महान् सूर्यपूजा तथा लोक आस्थाको पर्व श्रद्धापूर्वक मनाएका छन्।
चार दिनसम्म चल्ने यस पर्वको सुरुआत आइतबार चतुर्थी तिथिदेखि विधिपूर्वक भएको थियो। आज षष्ठी तिथिका अवसरमा व्रतालुहरू नजिकका नदी, पोखरी तथा अन्य जलाशयमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पूजा–आराधना गरिरहेका छन्।
यस दिनका लागि घरघरमा विशेष तयारी गरिन्छ। गहुँ र चामल कुटपिस गरी बनाइएको पीठोबाट ठकुवा, भुसुवा, खजुरिया, पेरुकिया जस्ता परिकार तयार पारिन्छन्। साथै फलफूल र तरकारीहरू—जस्तै मुला, गाजर, बेसारको गाँठो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला र केरा—समेत पूजाका सामग्रीका रूपमा सजाइन्छन्।
यी सामग्रीहरू नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोका भाँडाकुँडा तथा हात्ती आदिमा राखेर परिवारका सदस्यहरू भक्ति र लोकगीत गाउँदै छठ घाटतर्फ जाने चलन छ।
