काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको गेम डेभलपमेन्ट तथा आईटी उद्योगलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार र कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् ।
नेपालमै बनेका गेमहरूले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गर्दै उनले गेमिङ उद्योगलाई व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउने सरकारको तयारी रहेको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले विश्वमै चर्चित लुडो गेमका करिब २० करोड र कलब्रेक गेमका १५ करोडभन्दा बढी डाउनलोड रहेको उल्लेख गरेका छन् । यी दुवै गेम नेपालीले नै निर्माण गरेको उनको भनाइ छ ।
गेम निर्माणमा सक्रिय नेपाली युवाहरूसँग छलफल गरेको जानकारी दिँदै उनले उनीहरूले भोगिरहेका समस्या समाधानका लागि गृहकार्य अघि बढाइएको बताएका छन् ।
नेपालबाटै विश्वस्तरका युनिकर्न कम्पनी निर्माण गर्न सहज हुने गरी आवश्यक नीति, नियम र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले आईटी उत्पादन तथा निर्यातको क्षेत्र पनि सम्भावनायुक्त अवस्थामा रहेको बताएका छन् । नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण बनाउन कर प्रणाली र नीतिगत व्यवस्थामा सुधार गरिने उनको भनाइ छ ।
विशेषगरी अन्तर्राष्ट्रिय आम्दानीसँग सम्बन्धित कडा नियमलाई थप सहज बनाउने तयारी रहेको उनले बताएका छन् ।
यसका साथै गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन तथा आईटी क्षेत्र र राष्ट्र बैंक एवं अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रिया सञ्चालन गर्ने सरकारको योजना छ ।
समग्र आईटी उत्पादन तथा गेमिङ उद्योगलाई फाइदा पुग्ने इकोसिस्टम निर्माणका लागि सरकारले लगानी गर्ने पनि प्रधानमन्त्री शाहले बताएका छन् ।
नेपालमा गेम डेभलपमेन्ट र आईटी क्षेत्रलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली कम्पनीको पहुँच विस्तार गर्ने सरकारको लक्ष्य देखिएको छ ।
