काठमाडौं । भारतको उत्तराखण्डस्थित बद्रीनाथ धामबाट देहरादुनका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको छ।
शुक्रबार दिउँसो जोशीमठ नजिकै दुर्घटनामा परेको उक्त हेलिकप्टरमा पाँच जना तीर्थयात्री र एक पाइलट गरी ६ जना सवार थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित हेलिकप्टरले दिउँसो करिब १ः१४ बजे बद्रीनाथबाट उडान भरेको थियो। जोशीमठ उपत्यकाको आकाशमा पुगेपछि हेलिकप्टरसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो। त्यसपछि ट्र्याकिङ प्रणालीबाट समेत हेलिकप्टरको लोकेसन पत्ता लाग्न सकेन।
चमोली जिल्लाका विपद् व्यवस्थापन अधिकारी नन्दकिशोर जोशीका अनुसार ज्योतिर्मठ क्षेत्रको मारवाडीस्थित चाई गाउँ नजिकै हेलिकप्टर सम्पर्कविहीन भएको थियो। स्थानीयले जेपी ड्याममाथिको जङ्गलमा सेतो रङको वस्तुमा आगो लागेको देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए।
घटनापछि राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ), प्रहरी र जिल्ला प्रशासनको टोली उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको छ। दुर्घटनास्थल पहाडी क्षेत्रमा रहेकाले उद्धार टोली त्यसतर्फ अघि बढेको अधिकारीहरूले बताएका छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाको पुष्टि गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले जिल्ला प्रशासन, विपद् व्यवस्थापन र एसडीआरएफको टोलीसँग समन्वय गरी उद्धार कार्यको अनुगमन गरिरहेको बताएका छन्।
प्रारम्भिक रूपमा खराब मौसमलाई दुर्घटनाको सम्भावित कारण मानिएको छ। घटनापछि शनिबारका लागि उक्त क्षेत्रमा हेलिकप्टर सेवा स्थगित गरिएको छ।
