काठमाडौं । काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका खेल प्रभावित हुने सम्भावना बढेको छ । वर्षाका कारण आजको पहिलो खेल रद्द हुन सक्ने देखिएको छ भने दोस्रो खेल पनि अन्योलमा परेको छ ।
शनिबार दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल निर्धारित छ । तर मौसम पूर्वानुमानअनुसार दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने सम्भावना छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो १ देखि २ बजेसम्म काठमाडौंसहित विभिन्न स्थानमा वर्षा हुने अनुमान गरिएको छ । त्यसपछि भने वर्षा क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ ।
वर्षा रोकिए पनि मैदानलाई खेल्नयोग्य बनाउन पर्याप्त समय नपुग्ने देखिएको छ । लामो समयको वर्षाले मैदानको आउटफिल्डमा पानी जम्नुका साथै जमिन हिलाम्मे हुन सक्ने भएकाले खेल सञ्चालनमा कठिनाइ हुने अनुमान छ ।
पिचलाई कभरले सुरक्षित राखिएको भए पनि आउटफिल्ड तयार पार्न थप समय लाग्न सक्छ । मैदान भिजेको अवस्थामा बलरलाई दौडिएर बलिङ गर्न तथा फिल्डरलाई दौडिन र दिशा परिवर्तन गर्नसमेत कठिन हुन्छ । यसले खेलाडीको सुरक्षामा जोखिम निम्त्याउन सक्छ ।
त्यसैले वर्षा रोकिएलगत्तै खेल सुरु गर्न सम्भव नहुन सक्छ । पहिलो खेलको सम्भावित अन्योलसँगै शनिबार हुने दोस्रो खेल पनि मौसममा निर्भर रहने देखिएको छ ।
