काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री बनेपछि विदेशी उच्च अधिकारीसँग हुने उनको पहिलो औपचारिक एकल भेटवार्ता यही हुनेछ।
कान्डाको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र एडीबीबीच कुल १६५ मिलियन अमेरिकी डलर बराबरका दुई वित्तीय सम्झौतामा हस्ताक्षर हुने तयारी छ।
प्रस्तावित सम्झौताअन्तर्गत भन्सार प्रणालीको आधुनिकीकरण तथा व्यापार सहजीकरणका लागि ५० मिलियन अमेरिकी डलरको नीतिगत ऋण र १२ वटा सहरमा जलवायु उत्थानशील खानेपानी तथा सहरी सरसफाइ सुधारका लागि ११५ मिलियन अमेरिकी डलरको परियोजना सम्झौता हुने अपेक्षा गरिएको छ।
नेपाल भ्रमणका क्रममा एडीबी अध्यक्ष कान्डाले उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले एडीबीको सहयोगमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत अवलोकन गर्नेछन्।


