विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिँदै जाने चर्चा सुरु भएसँगै विराटनगर महानगरपालिकाको आगामी मेयर र उपमेयर को बन्ने भन्ने विषयले चर्चा पाउन थालेको छ । सामाजिक सञ्जालमा विभिन्न राजनीतिक दलमा आबद्ध तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको नाम र तस्बिर सार्वजनिक गर्दै सम्भावित उम्मेदवारबारे जनमत बुझ्ने प्रयाससमेत हुन थालेको छ ।
नियमित निर्वाचन हुने अवस्थामा आगामी वैशाखमा हालका जनप्रतिनिधिको कार्यकाल समाप्त हुँदैछ । निर्वाचनको तयारीसँगै विभिन्न राजनीतिक दलले उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदनसमेत संकलन गर्न थालेका छन् । चाडपर्व सकिएसँगै स्थानीय निर्वाचनको माहोल थप तात्ने आकलन गर्दै सम्भावित उम्मेदवारहरूले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।
यसबीच सबैभन्दा बढी चर्चा कोशी प्रदेशको राजधानी तथा प्रदेशकै एक मात्र महानगरपालिका विराटनगरको छ । दसैँअघि नै सामाजिक सञ्जालमा विभिन्न प्रयोगकर्ताले सम्भावित उम्मेदवारका रूपमा विभिन्न व्यक्तिको नाम र तस्बिर सार्वजनिक गर्दै ‘अबको विराटनगरको मेयर को ?’ भन्दै सर्वसाधारणको प्रतिक्रिया लिन थालेका थिए ।
सामाजिक सञ्जालमा चर्चामा आएका व्यक्तिमध्ये केहीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने केहीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । विराटनगरको मेयरमा उम्मेदवारी दिने घोषणा गर्ने पहिलो व्यक्तिका रूपमा ‘बुरा नगर’ उपनामले परिचित सफाइ अभियन्ता उद्धव केसीलाई लिइएको छ । उनले करिब एक वर्षअघिदेखि नै आफू मेयरको तयारीमा रहेको र आगामी निर्वाचनमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
त्यस्तै, पछिल्लो समय सामाजिक सञ्जालमा पारुल क्षेत्री, वासिम आलम, शिवकुमार मण्डल, वर्तमान उपमेयर शिल्पा निराला कार्की, दीपक चापागाईं, कृष्ण कार्की, यसअघि मेयर पदमा पराजित सागर थापा, दिवस नेपाल, रिचार्ड गौतम, अजय यादव, मनोज विक्रम शाह, उमेश यादव, किशोरी कार्की, वसन्त अधिकारी, गोपाल रेग्मी, सञ्जीव रेग्मी र भीम पराजुलीलगायतका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् ।
यद्यपि, सामाजिक सञ्जालमा नाम सार्वजनिक हुँदैमा सम्बन्धित व्यक्तिहरूले उम्मेदवारी दिने निश्चित भने भइसकेको छैन । चर्चामा आएका धेरैजसो व्यक्ति विभिन्न राजनीतिक दलसँग आबद्ध छन् भने केही पार्टीबाहिर रहेर सामाजिक क्षेत्रमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको चर्चा छ ।
निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलहरूले कसलाई उम्मेदवार बनाउँछन् र को स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिन्छन् भन्ने विषय स्पष्ट हुँदै जानेछ । अहिले सामाजिक सञ्जाल र चिया चौतारामा चर्चामा रहेका व्यक्तिहरूमध्येबाटै उम्मेदवार छनोट हुने हो वा नयाँ अनुहारले बाजी मार्ने हो भन्ने विषय विराटनगरमा चासोका साथ हेरिएको छ ।
सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मिश्रित प्रतिक्रिया पनि देखिन थालेका छन् । केही प्रयोगकर्ताले सम्भावित उम्मेदवारहरूले आफ्नो राजनीतिक तथा सामाजिक धरातल बुझ्न ‘मिडिया ट्रायल’ गरिरहेको टिप्पणी गरेका छन् भने केहीले चर्चामा आएका व्यक्तिहरूको समर्थनमा धारणा सार्वजनिक गरिरहेका छन् ।
यसैबीच, वर्तमान नगर प्रमुख नागेश कोइरालाले आगामी निर्वाचनमा पुनः उम्मेदवार बन्ने वा नबन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।
निर्वाचनको मिति, राजनीतिक दलहरूको रणनीति र सम्भावित उम्मेदवारहरूको औपचारिक घोषणासँगै विराटनगरको चुनावी समीकरण थप स्पष्ट हुँदै जानेछ । अहिलेका लागि भने सामाजिक सञ्जालमा सम्भावित उम्मेदवारको नाम सार्वजनिक गर्ने र जनमत बुझ्ने क्रमले महानगरको चुनावी चर्चालाई तीव्र बनाएको छ ।
