विराटनगर । आस्था, विश्वास र समर्पणलाई यात्राको माध्यम बनाउँदै विराटनगरका दुई धार्मिक व्यक्तित्वले भारतको सिलिगुडीसम्म १५५ किलोमिटर लामो पैदल धार्मिक यात्रा पूरा गरेका छन् । विराटनगरका चुन्नु गुप्ता र सुशील अग्रवालले विराटनगरदेखि सिलिगुडीको मिलनपल्लीस्थित पञ्चमुखी हनुमान मन्दिरसम्मको यात्रा पैदल पूरा गरेका हुन् ।
विराटनगर जुटमिल्सस्थित हनुमान मन्दिरबाट बिहीबार बिहान सुरु भएको उनीहरूको यात्रा रंगेली हुँदै भारतको सीमावर्ती क्षेत्रबाट अघि बढेको थियो । यात्राका क्रममा विभिन्न मन्दिरमा दर्शन तथा पूजाआजा गर्दै उनीहरू सिलिगुडी पुगेका हुन् ।
मिलनपल्लीस्थित पञ्चमुखी हनुमान मन्दिरको गोल्डेन जुब्ली अर्थात् स्वर्णजयन्तीका अवसरमा उनीहरू त्यहाँ पुगेका थिए । मन्दिरमा पुगेर उनीहरूले पूजाआजा गर्नुका साथै निशान चढाएका थिए ।
यात्राको पहिलो दिन उनीहरूले विराटनगरको गुदरीस्थित पञ्चमुखी हनुमान मन्दिरमा दर्शन गरेर यात्रा अघि बढाएका थिए । हाटखोलास्थित शिव मन्दिरमा पहिलो विश्राम गरेका उनीहरू नयाँ बजारमा खाना खाएर झपरतल पुगेका थिए । त्यहाँ पान पसलअगाडि रात बिताएका थिए ।
दोस्रो दिन उनीहरू भारतको शिवगञ्ज पुगे । दिनभरको पैदल यात्रापछि राति करिब साढे ८ बजे त्यहाँ पुग्दा उनीहरूलाई बस्ने ठाउँको समस्या भयो । रात बिताउने स्थान खोज्दै गर्दा एउटा बालकले नजिकैको शिव मन्दिरमा बस्ने ठाउँ रहेको जानकारी दिएको उनीहरूले सुनाएका छन् ।
उनीहरूका अनुसार बालकले मन्दिरको पर्खाल नाघेर बोलाएपछि त्यहाँ बस्ने व्यवस्था मिलेको थियो । पछि एक वृद्धले समेत गेट खोल्न सहयोग गरेका थिए । उनीहरूले यस घटनालाई यात्राका क्रममा प्राप्त भएको अनपेक्षित सहयोगका रूपमा स्मरण गरेका छन् ।
तेस्रो दिन उनीहरू झापा हुँदै काकरभिट्टा पुगेका थिए । बिर्तामोडमा श्याम मन्दिर र हनुमान मन्दिरसँग आबद्ध धार्मिक समूहका व्यक्तिहरूले उनीहरूलाई स्वागत गरेका थिए । रंगेलीमा पनि उनीहरूलाई स्वागत गरिएको थियो । काकरभिट्टा पुगेपछि शिव मन्दिरमा रात बिताएका उनीहरू भोलिपल्ट बिहान सिलिगुडीका लागि अघि बढेका थिए ।
पैदल यात्राका क्रममा केही स्थानमा बस्ने व्यवस्था मिलाउन कठिन भएको उनीहरूले बताए । तर, बाटोमा भेटिएका स्थानीयको सहयोग र धार्मिक आस्थाले यात्रालाई निरन्तरता दिन प्रेरित गरेको उनीहरूको अनुभव छ ।
१५५ किलोमिटरको यात्रा पूरा गर्दै उनीहरू सिलिगुडीस्थित मिलनपल्लीको पञ्चमुखी हनुमान मन्दिर पुगेका थिए । त्यहाँ पुगेर पूजाआजा गरेपछि निशान चढाइएको थियो ।
धार्मिक आस्था र समर्पणका साथ गरिएको यो यात्राले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पनि झल्काएको छ ।


