Premier Cables
Premier Steel

समाचार

एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईसहित चार जनाविरुद्ध मुद्दा दायर

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता तथा नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो।

मुद्दा दायर गरिएकामा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे छन्। उनीहरूविरुद्ध खेलकुद विकास ऐन, २०७७ र मुलुकी अपराध संहिता, २०७४ का सम्बन्धित प्रावधानअनुसार अभियोग लगाइएको छ।

विज्ञापन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा एन्फाको नेतृत्वबाट विभिन्न विषयमा अनियमितता भएको निष्कर्ष निकालेपछि सरकारी वकिल कार्यालयले मुद्दा अघि बढाएको हो।

सीआईबीको प्रतिवेदनअनुसार सन् २०२४ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपालमा हुन नसक्ने अवस्था सिर्जना गर्न एन्फा नेतृत्वको भूमिका रहेको उल्लेख छ। दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य हुने गरी गतिविधि गरिएको तथा एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदानमा खेलाउन निर्देशन दिनुअघि नै महासचिव राईले बहराइनमा खेल्ने सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, बहराइन फुटबल संघबाट टिकट बिक्री राजस्वबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको र खेलका लागि बहराइनका खेलाडी तथा पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम एन्फाको खातामा जम्मा भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सीआईबीले केल्मी ब्रान्डका खेल सामग्री खरिदमा पनि अनियमितता भएको निष्कर्ष निकालेको छ। १० लाख रुपैयाँभन्दा माथिको खरिदमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने व्यवस्था पालना नगरिएको र खरिद प्रक्रियामा सहभागी तीन कम्पनी एउटै स्वामित्वअन्तर्गत रहेको राखेपको उपसमितिको प्रतिवेदनले औँल्याएको छ। पछिल्ला साढे तीन वर्षमा एन्फाले करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद गरेको तथा वितरणमा समेत अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, फिफाबाट प्राप्त विश्वकपका ३३० अनलाइन टिकटको वितरण तथा बिक्रीमा पारदर्शिता नदेखिएको र शेर्पा आउटडुअरसँगको खेल सामग्री खरिद तथा प्रायोजन रकममा पनि अनियमितता भएको सीआईबीको निष्कर्ष छ।

मुद्दा दायर गरिएकामध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे सीआईबीको नियन्त्रणमा छन्। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गरिदिन सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ।

सीआईबीका अनुसार एन्फाका पदाधिकारीले मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को अनुमति नलिई सम्झौता गर्ने, विदेश भ्रमणमा टोली लैजाने र खरिद प्रक्रियामा अनियमितता गर्ने कार्यमा संलग्न रहेको निष्कर्ष निकालिएको छ। मुद्दाको अन्तिम फैसला अदालतको प्रक्रियापछि हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka