Premier Cables
Premier Steel

अपराध

इरान युद्धमा अमेरिकाका ८१ सैन्य विमानमा क्षति, ३.३ अर्ब डलरसम्म नोक्सानी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | साँझ ४:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इरान । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरेको सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ का क्रममा लडाकु विमान र ड्रोनसहित कम्तीमा ८१ अमेरिकी सैन्य विमान नष्ट वा क्षतिग्रस्त भएका छन्। अमेरिकी संसद्लाई बजेटसम्बन्धी विश्लेषण उपलब्ध गराउने गैरदलीय निकाय कंग्रेसनल बजेट अफिस (सीबीओ) को प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

सोमबार सार्वजनिक प्रतिवेदनअनुसार, अगस्ट १ सम्म अमेरिकी सैन्य विमानमा भएको क्षतिबाट ३ अर्ब ३० करोड अमेरिकी डलरसम्मको आर्थिक नोक्सानी भएको अनुमान छ। फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धले अमेरिकी सैन्य स्रोतसाधनमाथि पारेको प्रभाव र बढ्दो आर्थिक भारलाई प्रतिवेदनले उजागर गरेको छ।

विज्ञापन

साना ड्रोनबाट शक्तिशाली सेनालाई चुनौती
पूर्वसैन्य अधिकारी तथा सरकारी परामर्शदाता संस्था किल्लोवेन ग्रुपका अध्यक्ष हार्लान उलम्यानले आधुनिक युद्धमा कम लागतका हतियारले समेत शक्तिशाली सैन्य संरचनामा ठूलो क्षति पुर्‍याउन सक्ने बताएका छन्।

अलजजिरासँगको कुराकानीमा उनले इरानले अमेरिकी सैन्य उपकरण र मध्यपूर्वस्थित सैन्य आधारहरूलाई निशाना बनाएर केही हदसम्म सफलता हासिल गरेको बताए। उनका अनुसार, साना ड्रोनबाट ठूला सैन्य सम्पत्तिमा क्षति पुर्‍याउन सकिने भएकाले सैन्य आधार र उपकरणहरू जोखिममा परेका छन्।

सीबीओको प्रतिवेदनमा क्षति पुगेका वा नष्ट भएका विमानमध्ये १२ वटा एफ–१५ ई स्ट्राइक इगल, एउटा एफ–३५ ए लाइटनिङ टु र सातवटा केसी–१३५ स्ट्राटोट्याङ्कर समावेश छन्। पहिचान गरिएका कुल ८१ विमानमध्ये ४५ वटा एमक्यू–९ रिपर ड्रोन रहेको प्रतिवेदनमा उल्लेख छ।

रुस–युक्रेन युद्धले पनि आधुनिक युद्धमा ड्रोनको बढ्दो महत्त्व देखाएको छ। तुलनात्मक रूपमा कम लागतमा निर्माण र सञ्चालन गर्न सकिने ड्रोनको प्रयोगबाट सानो सैन्य शक्ति भएका देशले समेत ठूला सैन्य शक्तिका संरचनालाई चुनौती दिन सक्ने देखिएको छ।

यसैबीच, बेलायतस्थित रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड सैन्य आधारमा ड्रोन आक्रमण हुन सक्ने आशङ्का बढेपछि आइतबार अमेरिकाले त्यहाँ रहेका करिब एक दर्जन विमान अन्यत्र सारेको थियो। उलम्यानले यस्तो घटनाले ड्रोन आक्रमणको सम्भावनाले शक्तिशाली सेनालाई समेत रक्षात्मक कदम चाल्न बाध्य बनाउन सक्ने बताए।

उनले युक्रेनले रुसी सैन्य संरचनामाथि साना ड्रोन प्रयोग गरेर गरेको ‘अपरेसन स्पाइडरवेब’ लाई पनि यसै प्रवृत्तिको उदाहरणका रूपमा प्रस्तुत गरे।

युद्ध खर्चले ट्रम्प प्रशासनमाथि दबाब
इरान युद्धमा बढिरहेको खर्चले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि राजनीतिक दबाब थपेको छ। ट्रम्प प्रशासनले युद्ध र राष्ट्रिय सुरक्षासम्बन्धी आवश्यकतालाई कारण देखाउँदै सन् २०२७ को आर्थिक वर्षका लागि रक्षा बजेट बढाएर १.५ ट्रिलियन अमेरिकी डलर पुर्‍याउन प्रस्ताव गरेको थियो।

तर, बढ्दो सैन्य खर्चको विषयलाई लिएर अमेरिकी संसद्मा प्रश्न उठ्न थालेका छन्। गत महिना ४५ जना डेमोक्र्याटिक सिनेटर र एक स्वतन्त्र सिनेटरले रक्षामन्त्री पिट हेगसेथलाई खुला पत्र लेख्दै युद्धमा भएको खर्चको विस्तृत र पारदर्शी विवरण सार्वजनिक गर्न माग गरेका थिए।

सिनेटरहरूले युद्धका कारण अमेरिकी नागरिकले इन्धन, खाद्यान्न, घरकर्जा र हवाई टिकटमा समेत थप आर्थिक भार बेहोर्नुपरेको दाबी गरेका थिए। उनीहरूका अनुसार, पेट्रोल र डिजेलको मूल्य वृद्धिका कारण मात्रै अमेरिकी करदाताले थप १०० अर्ब डलर खर्च गरिसकेका छन् भने खाद्यान्न, घरकर्जा र हवाई टिकटको मूल्य बढ्दा कम्तीमा ६० अर्ब डलर थप भार परेको छ।

उनीहरूले संसद्को स्वीकृतिबिना र स्पष्ट रणनीतिक योजनाविना सुरु गरिएको युद्धका लागि थप बजेट मागिएको भन्दै आपत्ति जनाएका थिए। थप आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्नुअघि युद्धको खर्चबारे विस्तृत जानकारी आवश्यक रहेको उनीहरूको भनाइ थियो।

युद्धको लागत ३८ अर्ब डलर पुगेको अनुमान
सीबीओले सेप्टेम्बरमा सार्वजनिक गरेको अर्को प्रतिवेदनमा अगस्ट १ सम्म इरानसँगको युद्धमा अमेरिकाले करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरिसकेको अनुमान गरिएको थियो।

उक्त रकममा युद्धका क्रममा प्रयोग भएका हतियार, नष्ट भएका सैन्य उपकरण प्रतिस्थापन गर्ने खर्च, इन्धनको मूल्य वृद्धि र अन्य सैन्य कारबाहीको लागत समावेश छन्।

प्रतिवेदनअनुसार, युद्ध थप एक महिना लम्बिएमा करिब दुई अर्ब डलर खर्च हुन सक्नेछ। तर, जुलाईमा देखिएको जस्तै तीव्रतामा सैन्य कारबाही जारी रहेमा मासिक खर्च तीन अर्ब डलरसम्म पुग्न सक्ने सीबीओले जनाएको थियो।

मध्यावधि निर्वाचनमा कस्तो प्रभाव पर्ला?
सर्वेक्षणहरूले अमेरिकी मतदातामाझ इरान युद्ध अलोकप्रिय रहेको देखाएका छन्। युद्धमा भइरहेको खर्च र त्यसको आर्थिक प्रभावले आगामी अमेरिकी मध्यावधि निर्वाचनमा असर पार्न सक्ने विषयमा पनि विश्लेषण भइरहेको छ। उक्त निर्वाचनले संसद्मा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले आफ्नो नियन्त्रण कायम राख्न सक्छ कि सक्दैन भन्ने निर्धारण गर्नेछ।

यद्यपि, उलम्यानले सैन्य विमानमा भएको क्षतिसम्बन्धी प्रतिवेदनले मात्रै निर्वाचनको परिणाममा निर्णायक प्रभाव पार्ने सम्भावना कम रहेको बताए।

उनका अनुसार, युद्धको विरोध गर्ने नागरिकले समेत सैन्य कारबाहीका क्रममा यस्ता क्षति हुनु अस्वाभाविक नभएको ठान्न सक्छन्। त्यसैले प्रतिवेदनमा उल्लेखित क्षतिले मतदाताको धारणा र निर्वाचन परिणाममा कति प्रभाव पार्छ भन्ने विषय अझै अनिश्चित छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka